मिरिक, 1 नोभेम्बरः गोर्खा जनमुक्ति मोर्चा (गोजमुमो) दोस्रो खेमा अध्यक्ष विनय तामाङले आउँदो 3 नोभेम्बरका दिन राज्यकी मुख्यमन्त्री ममता ब्यानर्जीसित हुने बैठकपछि नै सम्पूर्ण कुरा सार्वजनिक गर्ने बताएका छन्।
आज मिरिकस्थित बोकार गुम्बामा आफ्ना स्वर्गीय पिताको आत्मशान्तिका लागि पूजा गर्न मिरिक आएका तामाङले 3 नोभेम्बरका दिन हुने बैठकमा विशेष दार्जीलिङ पहाड़को वर्तमान राजनीतिक परिवेश अनि शान्ति विषय लिएर नै चर्चा हुने पनि बताए।
राज्यकी मुख्यमन्त्री एवं तृणमूल कङ्ग्रेस सुप्रिमो ममता ब्यानर्जीले आउँदो 3 नोभेम्बरका दिन विनय तामाङसँगै अनित थापालाई पनि कलकता निम्ताएकी छन्, जसमा दार्जीलिङ पहाड़को शान्ति शृङ्खला साथै वर्तमान राजनीतिक परिवेश विषय लिएर चर्चा गर्ने जानकारी पाइएको छ।
अर्कोतिर, विनय तामाङले यसबारे अहिले नै कुनै प्रकारको बयान नदिने बताए तापनि पत्रकारहरूसँग कुराकानीअवधि 3 नोभेम्बरका दिन बैठक निश्चय नै हुने अवगत गराए।
बैठकपछि नै सम्पूर्ण कुरा विस्तृत रूपमा बताउने तामाङले बताएका छन्।
बैठकमा विशेष के छलफल हुने सम्भावना छ भन्ने प्रश्नको उत्तरमा तामाङले भने, “पहाड़को राजनीतिक परिवेश तथा यहाँको शान्ति शृङ्खलालाई लिएर नै बैठक हुनेछ।’’
अर्कोतिर, विमल गुरुङलाई लिएर सोधिएको एक प्रश्नबारे तामाङले कुनै प्रकारको प्रतिक्रिया दिन मानेनन्।