ममताको बयानलाई विमलपन्थी गोजमुमोको स्वागत

0
1330
रोशन गिरी (फोटो साभार : इण्टरनेट)

खरसाङ, 1 फरवरी : पछिल्लो 23 जनवरीको दिन चौरस्ताको मञ्चबाट राज्यकी मुख्यमन्त्रीले गोर्खाहरूको राष्ट्रिय चिन्हारीको समस्याको स्थायी समाधानका लागि कार्य गर्ने भनी दिएको बयानलाई विमल गुरुङपन्थी गोर्खा जनमुक्ति मोर्चा (गोजमुमो)-का महासचिव रोशन गिरीले स्वागत जनाएका छन्।

शुक्रवार एक प्रेस विज्ञप्ति जारी गरी उनले मुख्यमन्त्रीको बयानलाई स्वागत जनाएका हुन्। ‘गोर्खा जातिको वर्तमान स्थिति र जीटीएजस्तो वर्तमान अवस्थाले जनताको आकांक्षा पूरा गर्न नसक्ने कुरालाई मुख्यमन्त्री ममता ब्यानर्जीले अनुभूत गर्नु र स्वीकार्नु स्वागतयोग्य कदम हो’ भन्ने गिरीको भनाइ छ।

“दार्जीलिङ, तराई अनि डुवर्सलाई लिएर एउटा छुट्टै प्रशासनिक एकाइ बनाउने माग सन् १९०७-मा हिलम्यान एसोसिएशनले गरेको थियो। यो नै भारतमा गोर्खाहरूको सबैभन्दा पुरानो राजनीतिक माग थियो। त्यस समयदेखि यता धेरै तरिकामा धेरै संस्थाले यो माग उठाउँदै आए। सन् १९८६-८८, २००७-११ र २०१७-१९ -मा भएको छुट्टै राज्यका चर्चित आन्दोलनहरू दार्जीलिङ गोर्खा हिल काउन्सिल र जीटीएजस्ता अर्ध-स्वायत्त व्यवस्थामा आएर टुङ्गियो, जसले जनताको चाहनालाई पूरा गर्नसकेन, गिरीले विज्ञप्तिमा थप लेखेका छन्, यसै परिप्रेक्ष्यमा पश्चिम बङ्गालकी मुख्यमन्त्री सुश्री ममता ब्यानर्जीले २३ जनवरी २०१९-को दिन दार्जीलिङमा आएर गोर्खाको परिचय सङ्कटको सुरक्षा र पहाड़को  दीर्घकालीन  राजनीतिक समस्याको स्थायी समाधान विषयमा दिएको वक्तव्यको म स्वागत जनाउँदछु।”

विज्ञप्तिमा गिरीले जानकारी गराएअनुसार आफ्नो पार्टीको पक्षबाट उनले एक पत्र पठाएर मुख्यमन्त्रीको सोच र वक्तव्यको समर्थन पनि जनाएका छन्।

“जनताको दीर्घकालीन लम्बित मागलाई लिएर उनले वार्ता तथा बहसमा बस्ने हाम्रो इच्छालाई अवश्यै मानिलिनुहुनेछ भनी विश्वास गर्दछु”, उनले विज्ञप्तिमा लेखेका छन्।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here