2021 –को चुनाउमा बङ्गालबाट तृणमूल कङ्ग्रेसको नामनिशान मेटिनेछः बिष्ट

0
1013

दार्जीलिङ, 5 नोभेम्बरः 2021-मा हुने विधानसभा चुनाउमा बङ्गालबाट तृणमूल कङ्ग्रेसको नामनिशान मेटिने दावी दार्जीलिङका सांसद एवं भाजपाका राष्ट्रिय प्रवक्ता राजु बिष्टले गरेका छन्।

9 वर्ष लगातार वेवास्ता गरी चुनाउको मुखमा राजनीतिक फाइदाका लागि शरणार्थीहरूलाई भूमिको अधिकार दिने घोषणा गरे तापनि दार्जीलिङ पहाड़का चियाबगान र सिन्कोना बगान, डीआई फन्ड ल्यान्डका वासिन्दाहरू र वनबस्तीवासीहरूलाई पर्जापट्टाको अधिकार दिन किन ममता ब्यानर्जी र उनको सरकारले अस्वीकार गरिरहेका छन् भन्ने प्रश्न पनि उनले गरेका छन्।

यसबारे बिष्टले प्रश्न गरेका छन्, “किन तृणमूल कङ्ग्रेसले पुस्तौँदेखि बसिरहेका यी जनतालाई उनीहरूको पर्जा पट्टाको अधिकारबाट वञ्चित गरिरहेको छ? किन तृणमूल कङ्ग्रेसले दार्जीलिङ पहाड़, तराई र डुवर्सका जनताविरुद्ध भेदभाव गर्दैछ? के हाम्रा जनता यस देशका नागरिक होइनन्?”

उनका अनुसार अवहेलित एवं वञ्चित समुदायहरूप्रति तृणमूल सरकारको निष्ठुरता, उदासीनता र भेदभाव उदाङ्गो भएको छ।

“त्यसैकारण, उत्तर बङ्गालमा सन् 2019-को चुनाउमा तृणमूल कङ्ग्रेसले नराम्रो पराजयको मुख देख्नु परेको थियो’’, बिष्टले भनेका छन्, “अब 2021-को चुनाउमा सम्पूर्ण बङ्गालबाट यो पार्टीको नामनिशान नै मेटिनेछ।’’

अर्कोतिर, राज्यको शासक दल तृणमूल कङ्ग्रेस 9 वर्षदेखि सुतिरहेको र आजसम्म नामशुद्र र मतुआ दाजुभाइ-दिदीबहिनीहरूलाई उनीहरूका मूलभूत अधिकार प्रदान गर्न अलिकति पनि इच्छा नजाएको पनि उनले आरोप लगाएका छन्।

“हाम्रो सरकारले छिमेकका इस्लामिक देशहरूबाट ईसाई, बौद्ध, जैन, सिख र हिन्दू अल्पसङ्ख्यक समुदायलाई बचाउने उद्देश्यले नागरिकता संशोधन कानून (सीएए) लागू गऱ्यो। नामशुद्र र मतुआजस्ता समुदायहरूको रक्षा गर्न सीएए लागू गरिएको थियो ताकि उनीहरूले समानता, सम्मान र समान अवसरको जीवन बिताउन सकून्’’, उनले भनेका छन्, “तर, धेरैलाई सम्झनै होला, हामीले सीएए लागू गर्दा सबैभन्दा धेरै विरोध गर्ने तृणमूल कङ्ग्रेस  नै थियो।’’

चुनाउलाई ध्यानमा राखेर तृणमूल कङ्ग्रेस तमासा देखाउनमै सीमित रहेको कुरा आफूले पहिलादेखि नै भन्दै आएको तथा अवहेलित एवं वञ्चित समुदायका पीरमर्काप्रति यो दल पटक्कै चिन्तित नरहेको पनि बिष्टको दावी छ।

उनले यसको ज्वलन्त उदाहरण पश्चिम बङ्गाल सरकारले दार्जीलिङ पहाड़, तराई र डुवर्सका जनताप्रति गरेको अवहेलना रहेको पनि दार्जीलिङका सांसद एवं भाजपाका राष्ट्रिय प्रवक्ता राजु बिष्टको भनाइ छ।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here