गोर्खाको इतिहास मेटाएर विमल गुरुङ बङ्गालसँग मिल्न गए: दावा पाख्रिन

0
934

कालेबुङ, 10 नोभेम्बरः भारतीय जनता पार्टी (भाजपा)-सँग नाता तोड़ेर तृणमूल कङ्ग्रेसको शरणमा गएका विमल गुरुङको गोर्खाल्याण्ड राज्य निर्माण मोर्चा (गोरानिमो) प्रमुख दावा पाख्रिनले तीखो शब्दमा आलोचना गरेका छन्।

उनका अनुसार विमल गुरुङले गोर्खाको इतिहास मेटाएर बङ्गाल सरकारको शरणमा गएका छन्।

आज कालेबुङमा पत्रकार सम्मेलनको आयोजन गरी पाख्रिनले यस्तो बताएका हुन्।

गृह मन्त्रालयले पछिल्लो 7 अक्टोबरका दिन गोर्खाल्याण्ड टेरिटोरियल एड्मिनिस्ट्रेशन (जीटीए) सम्बन्धी डाकेको बैठकमा विमल गुरुङपन्थी गोजमुमोको उपस्थितिलाई गोरानिमो प्रमुखले ‘बङ्गाल सरकारसँग मिल्ने कोशिश’ भनेर अर्थ्याएका छन्।

“को गोर्खाल्याण्डविरोधी रहेछ, आज छर्लङ्ग भएको छ’’, पाख्रिनले थपे, “जनताले बुझ्ने समय आएको छ, को गोर्खाल्याण्ड र सत्यमा छ, को असत्यमा।”

विमल गुरुङले भाजपा छोड़्नुका कारण उनीहरूमाथि लागेको मुद्दा मात्र नरहेर अन्य थुप्रै कारण पनि रहेको गोरानिमो प्रमुखले बताए तापनि ती कारणहरू यी यी भने बताउन भने चाहेनन्। तर केही पछि ती कारणहरू स्पष्टसँग अघि देखापर्ने पाख्रिनको भनाइ छ।

अर्कोतिर, गोर्खाल्याण्ड ल्याउँछु भन्ने विमल गुरुङ, अनित थापा र विनय तामाङहरूले गोर्खाको परिचय भारतमा हाँस उठ्दो बनाएको पनि उनले बताए।

दावा पाख्रिनका अनुसार यी नेताहरूकै कारण गोर्खाहरू आन्दोलन गरेर बङ्गाल सरकारसँग बिक्छ भन्ने भारतमा आम धारणा बनिसकेको छ।

“यिनीहरूका कारण गोर्खाको इतिहास लिलाम भएको छ, खुकुरीको इज्जत लिलाम भएको छ”, उनले थपे।

यसैबीच पाख्रिनले भाजपामाथि नै भरोसा जताउँदै गोर्खाहरूको सपना अवश्यै पूरा गर्ने दावी गरेका छन्। भाजपाले आफ्नो सङ्कल्प-पत्रमा सामेल गरिसकेको मुद्दालाई पक्कै पूरा गर्ने र त्यो समय नजिक रहेको उनको भनाइ छ।

अर्कोतिर, उनले गोरानिमो आफ्नो वान् पोइन्ट माग गोर्खाल्याण्ड राज्यबाट एक इञ्च पनि पछि नसरेको र भविष्यमा पनि पछि नसर्ने ठोकुवा गरे। साथै आउँदो चुनाउमा पनि गोर्खाल्याण्डपन्थी दलहरूकै जीत हुने दावी दोहोऱ्याए।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here