पहाड़मा हाम्रो अध्याय शुरू भएको छः अनित थापा

0
955

दार्जीलिङ, 20 नोभेम्बरः वर्तमान समयमा दार्जीलिङ पहाड़मा आफ्नो राजनीतिक अध्याय शुरू ठान्छन् जीटीए बीओएका अध्यक्ष अनित थापा।

आज रेलिङ कैंजले समष्टि भ्रमणको क्रममा थापाले भने, “राजनीतिमा सबैका आ-आफ्नो अध्याय हुन्छ। विगतमा दार्जीलिङ पहाड़मा सुवास घिसिङको अध्याय थियो, उनले आफ्नो अध्याय पूर्ण गरे, त्यसपछि अर्को अध्याय शुरू भएको थियो। यसै क्रममा अहिले पहाड़मा हाम्रो अध्याय शुरु भएको छ। हाम्रो अध्याय पनि कहिलेसम्म चल्छ, त्यो हेर्दै जानुपर्छ। यो राजनैतिक संस्कार मात्र हो।’’

उनले थपे, “सिक्किममा पनि पहिला नरबहादुर भण्डारीको अध्याय थियो, त्यसपछि पवन चामलिङको अध्याय शुरू भएको थियो। अहिले आर पीएस गोलेको अध्याय शुरू भएको छ। राजनीति यसरी नै राजनैतिक संस्कारभित्र चल्ने गर्छ।’’

यसैबीच उनले दार्जीलिङ पहाड़को विकासका लागि जीटीएले काम गरिरहेको बताए।

थापाको दावीका अनुसार 2017-देखि उनीहरूले पहाड़को विकासका लागि अभियान नै चलाएका छन्, जुन अभियान अझै जारी छ।

“हामीलाई कसले के गर्दैछ अनि के भन्दैछ, त्यो-सँग कुनै सरोकार छैन। हामीले हाम्रो सोचलाई अघि बढ़ाएर गइरहेका छौं। हामी कसैलाई केही पनि भन्दैनौं’’, अनितले थपे, “पछिल्लो तीन वर्षदेखि हामीले पहाड़मा रोजगार सृष्टि गर्ने, शान्ति शृङ्खला कायम राख्ने र पहाड़लाई भय अनि डरमुक्त बनाउने सोच लिएर कार्य गरिरहेका छौं। यो अभियान जारी रहनेछ।’’

अब पहाड़मा भावनाको राजनीतिदेखि माथि उठेर यथार्थको राजनीति गर्नुपपर्ने उनको भनाइ छ।

विनयपन्थी गोजमुमो केन्द्रिय समितिका महासचिव एवं जीटीए बीओएका अध्यक्ष अनित थापा दुइदिने भ्रमणको क्रममा आज रेलिङ कैंजले क्षेत्र पुगेका छन्।

उनले थपे, “गोर्खाल्याण्ड भनेको हाम्रो आमा हो। हाम्रो पुरानो नारा थियो-कोक्रोको नानीले के भन्छ, गोर्खाल्याण्ड-गोर्खाल्याण्ड। यो कुरालाई हामीले व्यावहारिकरूपमा अघि लानुपर्छ। यो गोर्खाल्याण्डको मुद्दालाई भोटको बजारमा लिलाम गर्न हुँदैन। गोर्खाल्याण्डसँग हाम्रो सम्बन्ध भावनात्मक छ अनि मेरो उद्देश्य अनि सोच यो भावनाको मुद्दा लिएर हामीले भोट माग्नु हुँदैन।’’

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here