दार्जीलिङ, 20 नोभेम्बरः भारतीय जनता पार्टी (भाजपा) दार्जीलिङ जिल्ला कमिटीका पाँच सदस्यीय एक टोलीले शुक्रबार राज्यपाल जगदीप धनखड़सँग भेटवार्ता गऱ्यो।
जिल्ला कमिटी अध्यक्ष मनोज देवानको नेतृत्वमा गएको टोलीले सम्पूर्ण बङ्गाललगायत दार्जीलिङ पहाड़मा सरकारको अराजकता, गणतान्त्रिक मूल्य-मान्यताको हनन्, तथा जीटीए क्षेत्रमा भइरहेको भ्रष्टाचारबारे राज्यपाललाई उजुरी गरेको छ।
“सारा बङ्गाललगायत दार्जीलिङमा सरकारको जुन अराजकता छ, साथ-साथै जुन प्रकारले यहाँ गणतान्त्रको हनन् भइरहेको छ, विपक्षी दलका पार्टीहरू कुनै कार्यक्रम गर्न दिइएको छैन र जीटीएका हरेक क्षेत्रमा भ्रष्टाचार भइरहेको छ, यी विषयहरूमा हामीले राज्यपाललाई अवगत गराएका छौँ”, राज्यपालसँगको भेटवार्तापछि पत्रकारहरूलाई सम्बोधन गर्दै देवानले भने।
उनले थपे, “चाँड़ोभन्दा चाँड़ो जीटीएमा पनि भ्रष्टाचारको जाँच हुनुपर्छ भनेर माग गरेका छौँ।”
यसका साथै पुलिसको अत्याचार, पहाड़को बेकारी समस्या, चियाकमान र सिन्कोना बगानको वर्तमान जर्जर अवस्थाबारे अवगत गराएको देवानले खुलाए।
यसैबीच, उनले राज्य सरकार र जीटीएले चियाकमान र सिन्कोनाबगानलाई मरणासन्न अवस्थामा पुऱ्याएको आरोप लगाए।