गान्तोक, 22 नोभेम्बरः सिक्किमका सबै उच्च शैक्षिक संस्थान भोलि अर्थात् 23 नोभेम्बरदेखि खोल्ने राज्य सरकारले निर्णय लिएको छ।
लकडाउनपछि विश्वविद्यालय तथा कलेज खोल्ने सम्बन्धमा केन्द्रिय शिक्षा मन्त्रालय र विश्वविद्यालय अनुदान आयोगद्वारा गरिएको निर्देशनका आधारमा उच्च शैक्षिक संस्थान खोलिने सम्बन्धमा शिक्षा विभागले शुक्रबार एउटा परिपत्र जारी गरेको छ।
यसै विषयलाई ध्यानमा राखेर शिक्षा विभागले 23 नोभोम्बरदेखि राज्यमा कलेजहरू खोल्ने निधो गरेको छ।
विभागले सबै शिक्षण तथा गैर-शिक्षण कर्मचारीलाई 23 नोभेम्बरदेखि आफ्नो सम्बन्धित कलेजमा उपस्थिति दर्ता गराउन निर्देश दिएको छ।
यद्यपि विद्यार्थी भने अभिभावकको अनुमतिमा मात्र कलेज आउन सक्नेछन्।
कलेज सञ्चालनका क्रममा मन्त्रालय र विश्वविद्यालय अनुदान आयोगद्वारा निर्देशित सबै नियम पालन गर्नु पर्नेछ।