गुवाहाटी, 23 नोभेम्बरः असमका पूर्व मुख्यमन्त्री एवं कङ्ग्रेसका दिग्गज नेता तरुण गोगोईको आज (सोमबार) बेलुकी निधन भएको छ। उनी गुवाहाटी मेडिकल कलेजमा उपचाररत् थिए।
राज्यका स्वास्थ्य मन्त्री हिमन्त विश्व शर्माले यसबारे जानकारी दिएका छन्।
86 वर्षका गोगोई पछिल्ला केही समययता विरामी थिए। उनको अवस्था सोचनीय बनेको आज बिहान डाक्टरहरूले जानकारी दिएका थिए।
तरुण गोगोई तीनपटक असमका मुख्यमन्त्री बनेका थिए।
यसका साथै उनी 6 पटक लोकसभा सांसद रहेका थिए। वर्तमानमा पनि उनी सांसद थिए।
गोगोईको निधनमा प्रधानमन्त्री नरेन्द्र मोदी, कङ्ग्रेसका पूर्व अध्यक्ष राहुल गान्धीसमेत धेरै शोक व्यक्त गरेका छन्।
उल्लेखनीय छ, असमका यी पूर्व मुख्यमन्त्रीलाई 2 नोभेम्बरका दिन जीएमसीएचमा भर्ती गरिएको थियो।
शनिबार स्वास्थ्य अवस्था गम्भीर बनेपछि भेन्टिलेटरमा उनलाई राखिएको थियो।
पछिल्लो 25 अगस्तका दिन गोगोई कोरोना सङ्क्रमित बनेको पुष्टि भएको थियो। त्यसपछि भोलिपल्टै उनलाई जीएमसीएचमा भर्ती गरिएको थियो। यद्यपि कोरोना सङ्क्रमणबाट मुक्त बनेपछि 25 अक्टोबरका दिन उनलाई जीएमसीएचबाट छुट्टी दिइएको थियो।