दार्जीलिङ, 26 नोभेम्बरः बङ्गालमा घोटाला, सिन्डिकेट, कट-मनी र भ्रष्टाचार आम कुरा बनेको आरोप दार्जीलिङका सांसद एवं भाजपाका राष्ट्रिय प्रवक्ता राजु बिष्टले लगाएका छन्।
उनका आरोपका अनुसार पछिल्लो 10 वर्षमा तृणमूल कङ्ग्रेसले जनताका आशा र आकाँक्षाको घाँटी निमोठेको छ। साथै माकपाको शासनको हत्या, अव्यवस्था र गुण्डाराजलाई तृणमूल सरकारले झनै डरलाग्दो उँचाइमा पुऱ्याएको छ।
‘अपराधीहरूलाई तृणमूल सरकारको संरक्षण प्राप्त छ। र, राज्य सबै अवैध गतिविधि, अनुप्रवेशकारी तथा आतङ्कीहरूका लागि सुरक्षित आश्रयस्थल बनेको छ। तृणमूल सरकारले जनताको आवाज दबाउन पुलिस एवं राज्य प्रशासनको दुरुपयोग गरिरहेको छ’, बिष्टले बिहीबार एक प्रेस विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘हरेक दिन, साधारण जनता र उनीहरूका परिवारजनलाई अवैध रूपमा पक्राउ, डर देखाउने-धम्काउने र उत्पीड़न गरिएको रिपोर्ट प्राप्त भइरहेका छन्।‘
उनले तृणमूल सरकारको शासनमा बङ्गालमा लोकतन्त्रको कुनै नामनिशान नरहेको पनि बताएका छन्। साथै तृणमूल सरकारका गलत तथा गैर-जिम्मेवारीपूर्ण आर्थिक नीतिहरूले गर्दा आज पश्चिम बङ्गाल आर्थिक रूपले धराशायी हुने सँघारमा रहेको बिष्टको दावी छ।
उनले भनेका छन्, ‘माकपा र तृणमूल कङ्गद्रेसको दोषपूर्ण नीति एवं भेदभावका कारण आज उत्तर बङ्गाल, विशाल आर्थिक सम्भाव्यता हुँदाहुँदै पनि, अत्यन्तै नराम्रो अवस्थामा छ।’
अर्कोतिर बिष्टले दार्जीलिङ र कालेबुङको धरातलीय स्तरमा लोकतन्त्र नै नरहेको पनि बताएका छन्।
‘२००१ देखि पञ्चायत चुनाउ गराइएका छैनन्। विकास र रोजगार सृजनाका सबै मार्गहरू बन्द गरिएका छन्। व्यापक भ्रष्टाचार मात्रै फलि-फुलिरहेको क्षेत्र बनेको छ’, उनले भनेका छन्।
बिष्टले थप भनेका छन्, ‘सबैलाई थाह भएकै कुरा हो, दुइवटा अर्ध स्वायत्त निकायको गठन गरिए तापनि यसबाट केही व्यक्ति मात्र लाभान्वित हुनुबाहेक क्षेत्रका जनता अझ पनि वञ्चित नै छन्। चिया बगान श्रमिकहरू पीड़ित छन्। सिन्कोना बगानका श्रमिकहरू आफ्नो भविष्यप्रति चिन्तित छन् अनि वनवासीहरू तथा डीआई फन्ड ल्यान्डअन्तर्गत् जीवन-यापन गरिरहेका जनता पनि उनका अधिकारहरूबाट वञ्चित छन्। चिकित्सा पूर्वाधार छैन, शिक्षा व्यवस्था लथालिङअवस्थामा छ, सड़कहरू भताभुङ छन् अनि हाम्रा युवाहरू जीवन धान्नका लागि टाढ़ा-टाढ़ा जान बाध्य छन् जसको परिणामस्वरूप व्यापक मात्रामा बौद्धिक पलायन (ब्रेन ड्रेन) भइरहेको छ। हामी यो स्थितिलाई जारी रहन दिन सक्दैनौँ।’
यसैगरी राजु बिष्टले भाजपाले बङ्गालमा व्याप्त भ्रष्टाचार, कट-मनी र स्वार्थको राजनीतिलाई समाप्त गर्ने कुरामा दार्जीलिङ पहाड़, तराई अनि डुवर्सका जनतालाई आश्वस्त गराएका छन्। साथै यस क्षेत्रको शान्ति र प्रगतिका लागि स्थायी राजनीतिक समाधान र गोर्खा जातिका 11 जातगोष्ठीलाई जनजातिको दर्जा दिलाउने सङ्कल्प-पत्रको वाचा भाजपाले अवश्यै पूरा गर्ने उनले दावी दोहोऱ्याएका छन्।
‘हाम्रा सबै समस्याको समाधान हाम्रो संविधानमा निहित छ र संवैधानिक तरिकाले नै यो सम्भव हुन सक्दछ‘, बिष्टले भनेका छन्।
उनले थप दावी गरेका छन्, ‘दार्जीलिङ पहाड़, तराई र डुवर्सलगायत उत्तर बङ्गालका जनताद्वारा तृणमूल कङ्ग्रेसलाई जरैदेखि उखेलेर फ्याँक्न शुरू गरिएको प्रक्रिया आज राज्यभरि एक जन-आन्दोलन बनेको छ। अलोकतान्त्रिक तृणमूल कङ्ग्रेसको सत्ताको अन्त्य गर्न करोड़ौं जनताका आशा र विश्वासको रूपमा आज भाजपा अघि आएको छ। म सबैलाई आश्वस्त गर्दछु, भाजपाले हाम्रो क्षेत्र र समस्त बङ्गालका जनताका लागि एउटा नयाँ बिहानी लिएर आउने छ।‘