दार्जीलिङ, 27 नोभेम्बरः दार्जीलिङका एक वरिष्ठ पत्रकार दुर्गा प्रसाद शर्मा (डीपी शर्मा)-को 84 वर्षको उमेरमा निधन भएको खबरले दार्जीलिङका पत्रकारहरूमा शोकको माहौल छाएको छ।
70-को दशकमा अमृता बजार पत्रिकाबाट आफ्नो पत्रकार जीवन शुरू गर्ने डीपी शर्मा केही वर्षदेखि कलकत्तामा आफ्ना छोरी ज्वाईंसित बस्दै आएका थिए, जसको गत 25 नोभेम्बरको दिन हृदयघातका कारण निधन भएको परिवार सूत्रबाट जानकारी पाइएको छ।
डीपी शर्मा दार्जीलिङका एक अग्रज पत्रकार थिए, जसको अगुवाइमा दार्जीलिङका धेरै पत्रकारले पत्रकारिता सिक्ने अवसर पनि पाएका थिए।
दार्जीलिङ प्रेस गिल्डका संस्थापकसमेत रहेका उनले नै दार्जीलिङ प्रेस गिल्डको नामाकरण गरेका थिए।
शर्माको निधनमा दार्जीलिङका पत्रकारहरूमा शोकको लहर छाएको छ।
विभिन्न सम्मानबाट विभूषित बनिसकेका डीपी शर्मालाई गत वर्ष जीटीएको सूचना एवं सांस्कृतिक विभागले पत्रकारिताको क्षेत्रको लागि भानु पुरस्कारले सम्मानित गरेको थियो।
दार्जीलिङमा 1986-मा शुरू भएको गोर्खाल्याण्ड आन्दोलनकालमा पनि एक निडर पत्रकार बनेर निष्पक्ष पत्रकारको भूमिका निर्वाह गर्ने शर्माको निधनमा जीटीएको सूचना एवं सांस्कृतिक विभागका कार्यकारी निर्देशक साम्देन भोटिया र सह-निर्देशक भानुकान्त घिसिङले पनि विभागको पक्षबाट शोक व्यक्त गरेका छन्।
उनीहरूले भने, “दार्जीलिङका एक वरिष्ठ पत्रकार डीपी शर्माको निधनले समाजलाई अपुरणीय क्षति पुगेको छ।
यसैबीच, दार्जीलिङ प्रेस गिल्डले आज आफ्नो कार्यालयमा एक शोकसभाको आयोजन गरी स्व. डीपी शर्माप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गऱ्यो।
रोटी कपड़ा और मकान होगा ।