दार्जीलिङ, 28 नोभेम्बरः गोर्खा जनमुक्ति मोर्चा (पहिलो खेमा)-का अध्यक्ष विमल गुरुङ आउँदो 6 दिसम्बरपछि दार्जीलिङ आएर जीटीएको अधीनमा रहेको पत्ताबुङ गेष्ट हाउसमा बस्ने भएका छन्।
पार्टी प्रवक्ता विनीता रोकाले आज यस्तो घोषणा गरेकी हुन्।
विशेष गरी भोलि खरसाङमा विमलपन्थी मोर्चाका महासचिव रोशन गिरीको जनसभा हुने विषयलाई लिएर नै आज विमलपन्थी गोजमुमो दार्जीलिङ महकुमा समितिको एक सभा पातलेबास पार्टी कार्यालयमा सम्पन्न भएको थियो, जसमा पार्टीलाई सशक्त बनाउन प्रत्येक पार्टी कार्यकर्ताहरूलाई पुनः सक्रिय बनाउने विषयमाथि पनि चर्चा भएको रोकाले बताइन्।
यसैबीच, एक प्रश्नको उत्तरमा उनले भनिन्, “पार्टी अध्यक्ष विमल गुरुङ आउँदो 5 दिसम्बरका दिन नै कलकत्ताबाट सिलगढ़ीका लागि प्रस्थान गर्नेछन्। उनले 6 दिसम्बरका दिन सिलगढ़ीको बाघजतिन पार्कमा एक जनसभालाई सम्बोधन गर्नेछन्। त्यस दिन दार्जीलिङ पहाड़, तराई अनि डुवर्सबाट सम्हाल्न नसक्ने पार्टी कार्यकर्ताहरूको हुद्दा सिलगढ़ी जाने प्रबल सम्भावना छ। त्यसैले त्यस समय कसैले पनि पार्टी अध्यक्षलाई खदा-माला लगाउन पाउने छैन। किनभने, कोरोना सङ्क्रमणको कारण वर्तमान समयमा सामाजिक दूरी बनाउनुपर्ने नियम छ, तर त्यस दिन यो नियम पनि पालन हुन नसक्ने अवस्था देखिँदैछ।’’
उनले थपिन्, “पार्टी अध्यक्ष गुरुङ तीन वर्षपछि सिलगढ़ी आउने भएका कारण पार्टी कार्यकर्ताहरूमा धेरै उत्साह छाइरहेको छ। उनलाई भेट्न जानेहरूको ओइरो लाग्ने सम्भावना छ। त्यस दिन दार्जीलिङ पहाड़बाट सिलगढ़ी जाने गाड़ी पाउन मुश्किल पर्नसक्छ। यसैले सिलगढ़ी जान चाहने पार्टी कार्यकर्ताहरूले आ-आफ्नो गाड़ीको नम्बर वाट्सएपमार्फत पार्टी नेता तिलकचन्द रोकालाई पठाउन पर्नेछ।’’
6 दिसम्बरको जनसभापछि पार्टी अध्यक्ष विमल गुरुङ केही दिनसम्म सिलगढ़ीमा नै बस्ने, त्यसपछि दार्जीलिङ आएर पत्ताबुङ गेष्ट हाउसमा लगभग 10 दिनसम्म बस्ने कार्यक्रम रहेको पनि विनीता रोकाले जानकारी गराइन्।
गोजमुमो अध्यक्ष विमल गुरुङ सामसिङमा नै बस्ने हल्लाबारे गरिएको प्रश्नको उत्तरमा पार्टी प्रवक्ता रोकाले भनिन्, “गोजमुमोलाई यहाँ व्यापक जनसमर्थन छ। दार्जीलिङ पहाड़मा पार्टीको विस्तार गर्ने त्यति अधिक आवश्यकता छैन। यसैले तराई-डुवर्समा पार्टीलाई अझै सङ्गठित बनाउनका लागि पार्टी अध्यक्ष विमल गुरुङ आगामी दिनमा सामसिङमा पनि बस्नेछन्। तर सामसिङमा स्थायीरूपले होइन, अन्य स्थानहरूमा पनि पार्टी अध्यक्षको बसोबासो रहनेछ।’’