दार्जीलिङ, 29 नोभेम्बरः आज तकदा ग्लेनबन समष्टिमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै जीटीए बीओएका अध्यक्ष अनित थापाले पहाड़को विकाससँगै बेरोजगारी समस्याको समाधान आफ्नो प्राथमिकतामा रहेको बताए।
“म नरिवल फुटाएर जनतालाई झुक्याउने नेता होइन, काम गरेर देखाउनेछु”, उनले दावी गरे।
थापाले आज समष्टिमा पिउने पानी र सड़क निर्माण योजनाको शिलान्यास पनि गरे।
उनले क्षेत्रका युवा, नारी एवं अभिभावकहरूले आन्दोलनलाई धेरै योगदान दिएका कारण जीटीए बनिए तापनि जीटीएका पूर्व सञ्चालकहरूले स्थानीय जनताको योगदानलाई कदर नगरेको आरोप पनि लगाए।
नेतृत्वहरूमा केवल जनतालाई ढाँट्ने प्रवृत्ति भएकाले जनताले पनि नेताहरूका कुरालाई पत्याउने छोड़ेका उनको भनाइ। थापाका अनुसार उनले यहाँ निर्माणकार्यको घोषणा गर्दा पनि जनताले पत्याएका थिएनन्, तर आफू यस ठाउँमा जन्मेका कारण जनतालाई नढाँटी राजनीति गर्ने अनित बताए। यसैको फलस्वरूप आज सिङ्ग्रीताम र संलग्न क्षेत्रका लागि पानीको योजना र अप्पर माने डाँडादेखि लोअर माने डाँडाको सड़कको योजना शुरु गरिएको उनले बताए।
थापाका अनुसार विगतका नेताहरूले आन्दोलनको नाममा युवाहरूलाई हतियार बनाएर प्रयोग गरे। गोर्खाल्याण्डको नाममा आन्दोलन गरेर कुर्सी चढ़े। तर, युवाहरूलाई बेकारी बनाए। बेरोजगार युवाहरूका लागि कुनै पहल गरेन। पुलिसको केश ख्वाए।
अनितले आफू बेकारी भाइ-बहिनीहरूका समस्या हल गर्ने दिशामा काम गरिरहेको बताउँदै जनताले काम गर्ने नेतृत्वलाई चिन्नुपर्ने आह्वान गरे।