पीडब्ल्यूडी मन्त्री फिरहाद हकिमको बयान झूटो र हास्यास्पदः राजु बिष्ट

0
978

दार्जीलिङ, 1 दिसम्बरः ‘दार्जीलिङ मोड़को विकासकार्य केन्द्र सरकारले चासो नराख्दा हुन नसकेको हो’ भनी राज्यका पीडब्ल्यूडी मन्त्री फिरहाद हकिमले दिएको बयानलाई दार्जीलिङका सांसद एवं भाजपाका राष्ट्रिय प्रवक्ता राजु बिष्टले ‘मनगढ़न्ते दावी’-को संज्ञा दिँदै खण्डन गरेका छन्।

यसका साथै उनले मन्त्री हकिमको ‘अनभिज्ञता’-ले आफू छक्क परेको बताएका छन्।

राज्यका पीडब्ल्यूडी मन्त्रीको बयानलाई खण्डन गर्दै एक प्रेस विज्ञप्ति जारी गरी उनले भनेका छन्, ‘दार्जीलिङ मोड़को विकासकार्य केन्द्र सरकारले चासो नराख्दा हुन नसकेको हो’ भनी पश्चिम बङ्गालका पीडब्ल्यूडी मन्त्री फिरहाद हकिमद्वारा गरिएको मनगढ़न्ते दावी पढ़ेर म छक्क परेको छु। योभन्दा झूटो दावी अरू केही हुनसक्दैन। खप्रेल मोड़देखि दार्जीलिङ मोड़सम्मको राजमार्गको हिस्सा भारतीय राष्ट्रिय राजमार्ग प्राधिकरण (एनएचएआई)-अन्तर्गत् नभएर पश्चिम बङ्गालको पीडब्ल्यूडी अन्तर्गत् पर्छ भन्ने तथ्यबाट अनभिज्ञ भई पोहोर साल बङ्गालका पर्यटन मन्त्री गौतम देव पनि यहाँ आफ्नै सरकारविरुद्ध धरनामा बसेको हास्यास्पद स्थितिलाई पीडब्ल्यूडी मन्त्री फिरहाद हकिमले अहिले फेरि दोहोऱ्याएका छन्।’

बिष्टका अनुसार 29 जुलाई 2020 –मा केन्द्रिय मन्त्री नितिन गडकरीबाट उनलाई प्राप्त भएको एक लिखित जनाउमा भनिएको छ-‘राज्य पीडब्ल्यूडीलाई दार्जीलिङ मोड़ र सिलगढ़ी शहर अन्डरपासको उपलब्ध ROW-भित्र ग्रेड-सेप्रेटेड जङ्क्शनको रूपमा विकास गर्ने विकल्पको खोजी गर्न, अथवा स्थानीय ट्राफिकको सहज प्रबन्धनका लागि  ट्रम्पेट इन्टरचेञ्जको रूपमा ती दुइ जङ्क्शन विकसित गर्नलाई  उपयुक्त भूमि प्रदान गर्न अनुमति दिने सल्लाह दिइएको छ।‘

उनले थप भनेका छन्, ‘सत्य त के हो भने केन्द्र सरकारको निर्देशअनुसार पश्चिम बङ्गाल पीडब्ल्यूडीले त्यो हिस्सालाई चार लेनको बनाउनका लागि विस्तृत परियोजना रिपोर्ट (DPR) तयार गर्दैछ, तर तयार पारेर केन्द्रलाई बुझाउनु अझ बाँकी नै छ। वैकल्पिक रूपमा केन्द्रिय मन्त्रालयले जमिन हस्तान्तरण गर्न भनेको छ, ताकि एनएचएआईले राजमार्गको त्यो हिस्साको विकास गर्न सकोस्। तर, पश्चिम बङ्गाल पीडब्ल्यूडी विभागले अहिलेसम्म जमिन पनि हस्तान्तरण गरेको छैन।‘

यसैगरी राज्यको पीडब्ल्यूडीले यथाशीघ्र डीपीआर तयार गर्ने तथा चाँड़ोभन्दा चाँड़ो केन्द्रिय मन्त्रालयलाई बुझाउने भन्ने कुरामा बिष्ट आशावादी देखिएका छन्, ताकि दार्जीलिङ मोड़को हिस्साको चिरप्रतीक्षित विकास कार्य शुरू गर्न सकियोस्।

दार्जीलिङ मोड़ क्षेत्रको विकास कार्य भए सिलगढ़ी शहरका जनताले निश्चित रूपमा ट्राफिक जामको समस्याबाट निजात पाउने उनको भनाइ छ।

सांसद राजु बिष्टले थप भनेका छन्, ‘फिरहाद हकिमलाई म अनुरोध गर्दछु, पश्चिम बङ्गाल पीडब्ल्यूडीले यस सम्बन्धमा कुनै प्रस्ताव तयार गरेको छ भने त्यसको विवरण सार्वजनिक गर्नुस्। जनतालाई सत्य जान्ने अधिकार छ। वैकल्पिक रूपमा, उनले त्यो विवरण मलाई पठाउन सक्नेछन्। म उनलाई आश्वस्त गर्दछि, यस्तो विवरण प्राप्त भएको केही दिनभित्रै म मन्त्री नितिन गडकरीलाई भेटेर मामिलाको समाधान गरेर देखाउनेछु।’

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here