गोरामुमोले पहाड़का विभिन्न स्थानमा पालन गऱ्यो छैटौं अनुसूची सम्झौता दिवस

0
932

दार्जीलिङ, 6 दिसम्बरः गोरामुमोलाई अहिले पनि नबुझे गोर्खा जातिको भविष्य मेचीको बगरमा हुने खरसाङ ब्राञ्च कमिटीका अध्यक्ष निमा लामाको दावी छ।

आज छैटौं अनुसूची सम्झौता दिवस समारोहको अवसरमा गोरामुमो खरसाङ शाखा अध्यक्ष निमा लामाले यसो दावी गरेका हुन्।

उनले छैटौं अनुसूची सम्झौता दिवस समारोह पालनपछि पत्रकारहरूसित कुराकानी गर्दै भने, “गोरामुमोका संस्थापक अध्यक्ष सुवास घिसिङले गोर्खा जातिको हितका लागि छैटौं अनुसूचीको माग गरेका थिए अनि त्यसमाथि 6 दिसम्बर 2005-मा त्रिपक्षीय सम्झौता पनि भएको थियो। तर, त्यस समय छैटौं अनुसूचीको विरोध गरेर गोर्खा जातिको सुनौलो भविष्य बिगार्ने काम भएको थियो।’’

यसैकारण गोरामुमोले 2019-को लोकसभा चुनाउमा भाजपासित छैटौं अनुसूची वा त्यसभन्दा ठूलो व्यवस्था नै दिने माग वा सहमतिमा भाजपालाई समर्थन जनाएको उनले बताए।

“यदि केन्द्रले यूटी वा छुट्टै राज्य नै दिए अझै उत्तम हुनेछ। तर, छैटौं अनुसूचीभन्दा सानो व्यवस्थालाई गोरामुमोले कुनै पनि स्थितिमा स्वीकार गर्नैछैन’’, लामाले थपे।

यसैबीच, उनले विमल गुरुङपन्थी गोजमुमो र विनय तामाङपन्थी गोजमुमोमाथि कटाक्ष प्रहार गर्दै यी दुइवटा पार्टीले जीटीएको चौकीमा बस्नका लागि मात्रै हानथाप गरिरहेको अनि आ-आफ्नो जनसमर्थन देखाउने होड़बाजी गरिरहेको आरोप लगाए।

उनले भने, “यी दुइवटा पार्टी जीटीएजस्तो थोत्रे व्यवस्थाका लागि लड़ाइँ गर्ने सुरमा छन्। एक पार्टीले अर्को पार्टीलाई गाली गर्ने काम गरिरहेको छ। तर, मुद्दा शून्य छ। उनीहरूले जीटीएको चौकीबाहेक अन्य केही सोचेका छैनन्। तर, गोरामुमोले जहिले पनि गोर्खा जातिका भलाइ र हित मात्रै सोचिरहेको छ।

गोर्खा जातिकै भलाइकै लागि गोरामुमोले छैटौं अनुसूचीको माग उठाएको थियो अनि आज पनि पार्टीका संस्थापक अध्यक्ष सुवास घिसिङले देखाएको मार्गमा नै पार्टी अघि बढ़िरहेको निमा लामाको भनाइ छ।

“अब जनताले गोरामुमोलाई एकपल्ट बुझिदिनुपर्छ। नत्र, गोर्खा जातिको भविष्य मेचीको बगरमा हुनेछ’’, उनले थपे, “दुइवटा गोजमुमोको झगड़ा केवल जीटीएको चौकीका लागि हो। सुवास घिसिङले 1988-मा कोरेको दागोपापको सिमाना जीटीएले रोहिणीको गेटमा खुम्चाइसकेको छ।’’

लामाले थपे, “दार्जीलिङ मोड़को भवन सिलगढ़ी कमिश्नरेटमा पसिसक्यो, पिन्टेल भिलेज, सुकना थाना सिलगढ़ीभित्र पसिसके। यसैले सुवास घिसिङले कोरेको गोरेटोलाई सम्पूर्ण जनताले एकपल्ट बुझ्नुपर्छ अनि गोरामुमोलाई यसैका लागि साथ दिनुपर्छ।’’

उल्लेखनीय छ, आज गोर्खा राष्ट्रिय मुक्ति मोर्चाले दार्जीलिङ, खरसाङ, कालेबुङ, मिरिक साथै अन्य स्थानहरूमा छैटौं अनुसूची सम्झौता दिवस पालन गऱ्यो।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here