सिलगढ़ी, 7 दिसम्बरः उत्तरकन्या अभियानमा सहभागी भाजपा कार्यकर्ताको मृत्युलाई केन्द्र गरी सिलगढ़ीको वातावरण तनाउपूर्ण बनेको छ।
फूलबारीबाट उत्तरकन्यातर्फ बढ़िरहेका भाजपा कार्यकर्ताहरू र पुलिसबीच भएको झड़पमा गजलडोबानिवासी उलेन राय (50)-को मृत्यु भएको बताइएको छ।
पुलिसको हमलाले यी उलेन रायको मृत्यु भएको भाजपाको आरोप छ। यसका साथै सयभन्दा अधिक भाजपा कार्यकर्ता घाइते भएको दार्जीलिङका सांसद एवं भाजपाका राष्ट्रिय प्रवक्ता राजु बिष्टले बताएका छन्।
उल्लेखनीय छ, राज्यको शासक दल तृणमूल कङ्ग्रेसविरुद्ध आज भारतीय जनता पार्टीको युवा एकाइ भारतीय जनता युवा मोर्चाले उत्तरकन्या अभियानको आयोजन गरेको थियो, जसमा भाजपाका केन्द्रिय र राज्यस्तरीय शीर्ष नेतृत्वलगायत सयौँ कार्यकर्ता सहभागी बनेका थिए।
अर्कोतिर, भाजयुमोको उत्तरकन्या अभियानलाई केन्द्र गरी प्रशासनले तीनबत्ती मोड़ र फूलबारीमा व्यापक पुलिसबल खटाइएको थियो भने दुवै ठाउँमा ब्यारिकेड लगाइएको थियो। वाटर क्यानन तयार राखिएको थियो।
यसैबीच, तीनबत्ती र फूलबारीमा ब्यारिकेड भत्काएर अघि बढ़्न खोजेका भाजपा कार्यकर्ताहरू र पुलिसबीच झड़प भयो। भाजपा कार्यकर्ताहरूलाई रोक्न र छरपस्ट पार्न पुलिसले आँसु ग्यासको र पानीको फोहोरको प्रयोग गऱ्यो।
अर्कोतिर, भाजपा कार्यकर्ताले ढुङ्गामूढ़ा गरेको पुलिसले भनाइ छ, जसमा केही पुलिस घाइते भएको बताइएको छ।
जानकारीका अनुसार पुलिसले केही भाजपा नेता एवं कार्यकर्ताहरूलाई पनि हिरासतमा लिएको छ।