दार्जीलिङ, 8 दिसम्बर: केन्द्र सरकारले किसानविरोधी कानून पारित गरेको विरोध गर्दै आज भारत बन्दकै अवधि दार्जीलिङ तृणमूल कङ्ग्रेसले दार्जीलिङमा एक विरोध ऱ्याली निकाल्यो।
दार्जीलिङको जजबजारस्थित पार्टी कार्यालयअघिबाट शुरू गरिएको यो ऱ्यालीले केन्द्रको भाजपा नेतृत्वावधीन सरकारको विरोध गर्दै नाराबाजी पनि गरेको थियो भने दार्जीलिङ जिल्लापाल कार्यालय पुगेर जिल्ला प्रशासनलाई एक ज्ञापन दियो।
यसैबीच, पत्रकारहरूसित कुराकानी गर्दै दार्जीलिङ हिल तृणमूल कङ्ग्रेस प्रवक्ता एनबी खवासले भने, “केन्द्र सरकारले किसान विरोधी कानूनलाई फिर्ता लिनुपर्छ भन्ने माग लिएर नै आज जिल्लापाललाई ज्ञापन प्रदान गरिएको छ।’’
उल्लेखनीय छ, आज केन्द्र सरकारको किसानविरोधी कानूनको विरोधमा नै देशव्यापी हड़तालको आह्वान गरिएको थियो। तर, दार्जीलिङमा यस बन्दको कुनै प्रभाव नपरे पनि सिलगढ़ी क्षेत्रमा बन्दको गतिलै असर परेको देखियो।
वास्तवमा हिजो उत्तरकन्या अभियानअवधि पुलिससँगको झड़पमा आफ्नो कार्यकर्ताको मृत्युको प्रतिवादमा आजै भारतीय जनता पार्टीले 12 घण्टे उत्र बङ्गाल बन्द डाकेका कारण पनि तराईमा आजको बन्दको थप प्रभाव परेको हो।
“किसानहरूले आफ्ना उत्पादहरू मण्डीमा बेच्नका सट्टा कर्पोरेट हाउसहरूलाई बेच्न पर्ने अवस्था आइरहेको छ’’, खवासले थपे, “यसैले यो कानूनलाई शीघ्र खारेज गर्नुपर्ने माग लिएर नै आज दार्जीलिङ हिल तृणमूल कङ्ग्रेसले दार्जीलिङ पहाड़भरि नै विरोध प्रदर्शन गरेको हो।’’
यसरी नै हाल देशभरि नै आवश्यक खाद्य सामग्रीहरूको व्यापक मूल्य वृद्धि भइरहेको विषयको पनि तृणमूल कङ्ग्रेसले विरोध जनाएको उनले बताए।
खवासले थपे, “केही वर्षअघिसम्म 10 रुपियाँ प्रतिकिलोको दरले पाउने आलुको मूल्य 70 रुपियाँ पुगिसक्यो। टमाटर 50 रुपियाँ प्रतिकिलो पुगिसकेको छ। के यही हो भाजपाको अच्छे दिन?’’
उनले आउँदो 11 दिसम्बरका दिन यसै किसानविरोधी कानूनको विरोधमा दार्जीलिङमा एक विराट् जनसभाको आयोजना गर्ने निर्णय लिएको पनि बताए।
त्यस दिन पार्टीले काकझोड़ास्थित कार पार्किङदेखि सुमेरू मञ्चसम्म जुलूस निकाल्ने योजना बनाएको पनि उनले जानकारी गराए।
यस जनसभा र जुलूसलाई सफल बनाएर देशभरिका किसानहरूलाई सहयोग प्रदान गर्ने पनि एनबी खवासले दार्जीलिङका जनतासमक्ष अपील गरेका छन्।
अर्कोतिर किसानविरोधी केन्द्रको कानूनविरुद्ध तथा आन्दोलनरत् देशका किसानहरूलाई समर्थन जनाउँदै आज हिल तृणमूल कङ्ग्रेसले कालेबुङमा पनि ऱ्याली निकालेको थियो।