बिष्टले भेटे घाइते भाजपा कार्यकर्ता र उनीहरूका परिवारलाई, सीबीआई जाँचको माग

0
1176

सिलगढ़ी, 9 दिसम्बरः दुई दिनअघि अर्थात् 7 दिसम्बरका दिन भारतीय जनता युवा मोर्चाको उत्तरकन्या अभियानअवधि पुलिससँगको झड़पमा घाइते भएका भाजपा कार्यकर्ता र उनीहरूका परिवारसँग दार्जीलिङका सांसद एवं भाजपाका राष्ट्रिय प्रवक्ता राजु बिष्टले भेट गरेका छन्।

आज बिष्टले उनीहरूसँग भेट गरेका हुन्। स्वयं उनले एक विज्ञप्ति जारी गरी यसबारे जानकारी गराएका छन्।

यसका साथै उत्तरकन्या अभियानमा सामेल भाजपा कार्यकर्ताहरूमाथि पुलिसले क्रूरतापूर्ण हमला गरेको र त्यस हमलामा सयौँ भाजपा कार्यकर्ता घाइते भएका आरोप लगाएका छन्।

उल्लेखनीय छ, यस झड़पमा गजलडोबानिवासी भाजपा कार्यकर्ता उलेन राय (50)-को मृत्यु भएको थियो।

‘भाजपा कार्यकर्ता उलेन रायका हत्यामा सामेल अधिकारीहरूलाई निलम्बित गर्नका सट्टा तृणमूल सरकारले उल्टै भाजपा नेताहरूमाथि मुद्दा दर्ता गरेको छ’, उनले थप भनेका छन्, ‘2017-मा 11 जना निर्दोष गोर्खा युवालाई गोली ठोकेर मारेपछि तृणमूल कङ्ग्रेस सरकारले उल्टै दार्जीलिङ र कालेबुङका गोर्खा नेताहरूमाथि पनि मुद्दा दर्ता गरेको थियो।’

तृणमूल सरकारले भाजपा नेताहरूमाथि उल्टै झूटा मुद्दाहरू लगाइएको र कानूनको ठाड़ो उल्लङ्घन गरिरहेकाले सिलगढ़ीको घटनाको सीबीआई जाँच हुनुपर्ने भाजपाको माग रहेको पनि उनले बताएका छन्।

साथै आउँदा केही दिनभित्रै गृहमन्त्रीसमक्ष यो मुद्दालाई पुऱ्याउने पनि बिष्टले जनाएका छन्।

 ‘बङ्गाल पुलिसले सांसदहरूमाथि गम्भीर अपराधका आरोपहरू लगाइएकाले हामी सीबीआईबाट स्वतन्त्र छानबिनको माग  गरिरहेका छौँ’, राजु बिष्टले भनेका छन्।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here