इम्फाल, ३ फरवरी : शनिवार मणिपुर पुलिसले ७३ जना नेपाली युवक-युवतीसहित कुल १२८ जनालाई मानव तस्करको हातबाट बचाएको छ।
इम्फाल नगर पुलिसका अनुसार सूचनाको आधारमा पुलिसले राज्यका विभिन्न होटलमा छापामारी अभियान चलाएर यति बाक्लो सङ्ख्यामा युवक युवतीहरू उद्धार गरिएको हो। पुलिसले यो अभियान राजधानी र म्यान्मार सीमा नजिक तेङ्गनौपाल जिल्लाको मोरे नगरका विभिन्न होटलमा चलाइएको थियो।
मणिपुर पुलिसका अनुसार उद्धार गरिएकाहरूमध्ये ७३ जना नेपाली हुन्। यो अभियानको नेतृत्व इम्फाल पश्चिम जिल्लाका पुलिस अधिकारी सन्दीप गोपाल दासले गरेका थिए। इम्फालका विभिन्न होटलबाट १०३ युवती र पाँच युवक तथा मोरे नगरका होटलहरूबाट ५ युवती र १५ युवकलाई उद्धार गरिएको छ।
प्रारम्भिक रिपोर्ट्सका अनुसार अन्तरराष्ट्रिय मानव तस्करहरूले यी उनीहरूलाई पहिलो म्यान्मार लगेर त्यहाँबाट दुबई र इराक लैजाने योजना बनाएका थिए।
उद्धार गरिएका युवकहरूबारे पुलिसले गहन छानबिन गरिरहेको छ। किनभने यी युवकहरू नै मानव तस्कर हुनसक्ने पुलिसको आशङ्का छ।
तेङ्गनौपाल जिल्लाका पुलिस अधीक्षक एस. इबोम्चाले सीमावर्ती नगरका होटल तथा सन्दिन्ध घरहरूमा छापामारी कार्य जारी राख्ने बताएका छन्। उल्लेखनीय छ, पछिल्लो शुक्रबार मात्र दिल्लीबाट दिल्ली महिला आयोगले ६ नेपाली युवती उद्धार गरिएको थियो।