गान्तोक, 10 दिसम्बरः भारतीय सेनाको 33औं कोरका जीओसी लेफ्टिनेन्ट जनरल अजयकुमार सिंह र 17 माउण्टेन डिभिजनका जीओसी मेजर जनरल रोहित साहनीले बिहीबार मुख्यमन्त्री पीएस गोलेसँग मिन्तोकगाङमा भेटवार्ता गरे।
यस भेटका अवसरमा राष्ट्रिय सुरक्षाका विभिन्न मुद्दामाथि चर्चा भएको थियो भने राष्ट्रिय सुरक्षा सरकारको सर्वोच्च प्राथमिकता रहेकाले राज्य सरकारले यसमा पूर्ण सहयोग र समर्थन दिने मुख्यमन्त्रीले आश्वासन दिए।
लेफ्टिनेन्ट जनरल अजयकुमार सिंह र जीओसी रोहित साहनीले सिक्किमलाई स्वच्छता र सुशासनका क्षेत्रमा हालै इण्डिया टुडेद्वारा पुरस्कृत गरिएकोमा राज्य सरकार र मुख्यमन्त्रीलाई बधाई दिए।
उनीहरूले गलवान उपत्यका शहीदहरूका सम्मानमा आयोजित कार्यक्रम ‘वीरो को नमन’ र शहीदहरूलाई प्रदान गरिएको अनुग्रह राशिप्रति पनि खुशी र सन्तुष्टि व्यक्त गरे।
यसअवसरमा मुख्यमन्त्रीले सिक्किम स्काउटमा रहेर सेवाअवधिका समयमा ज्यान गुमाउनेका आफन्तलाई सरकारी नोकरी प्रदान गर्न सरकारले अधिसूचनालाई संशोधन गर्ने जानकारी पनि गराए।
लेफ्टिनेन्ट जनरलद्वयले मुख्यमन्त्रीप्रति आभार व्यक्त गर्दै राज्य सरकारलाई अन्य आपत्कालीन अवस्था र प्राकृतिक आपदाका समयमा सधैँ सहयोग प्रदान गर्ने वचन दिएका छन्।