दार्जीलिङ, 15 दिसम्बरः दार्जीलिङ पहाड़, तराई अनि डुवर्सको दीर्घकालीन समस्याको स्थायी राजनीतिक समाधान र 11 जातगोष्ठीलाई जनजातिको मान्यताको मुद्दाबारे छलफलका लागि भाजपाले गठबन्धनका दलहरूलाई दिल्ली बोलाएको छ।
यस कुरालाई अखिल भारतीय गोर्खा लीग प्रताप गुट र क्रान्तिकारी मार्क्सवादी कम्युनिस्ट पार्टी (क्रामाकपा)-ले पुष्टि गरेका छन्।
जानकारीका अनुसार भोलि यस विषयमा गृह मन्त्री अमित शाहसँग यी दलहरूको बैठक हुनेछ। बैठकको समय भने निश्चित भइसकेको छैन।
भोलिको बैठकमा भाग लिनका लागि अभागोली प्रताप खाती गुटका कार्यकारी अध्यक्ष प्रताप खाती आज कालेबुङबाट दिल्ली प्रस्थान भएका छन्।
उनले जनसंवादसँग टेलिफोनिक कुराकानीमा भने, “भोलि गृहमन्त्री अमित शाहसँग स्थायी राजनीतिक समाधानबारे बैठक हुनेछ। हामी बैठकमा संविधानद्वारा प्रदत्त अधिकारअनुरूप छुट्टै राज्य गोर्खाल्याण्ड गठनको माग गर्नेछौँ। किनभने गोर्खा लीगको मूल मुद्दा भनेकै गोर्खाल्याण्ड हो। र दार्जीलिङ पहाड़को स्थायी राजनीतिक समाधान पनि गोर्खाल्याण्ड गठनले मात्र हुनेछ।”
अर्कोतिर, क्रामाकपाबाट अध्यक्ष आरबी राई र कालेबुङ आञ्चलिक समितिका अध्यक्ष किशोर प्रधान दिल्ली जानेछन्।
गोर्खा राष्ट्रिय मुक्ति मोर्चा (गोरामुमो)- अध्यक्ष मन घिसिङको नेतृत्वमा एक प्रतिनिधि टोली हिजै दिल्ली प्रस्थान गरिसकेका छन्। टोलीमा मन घिसिङलगायत प्रवक्ता महेन्द्र छेत्री र दार्जीलिङ भाजपा विधायक नीरज जिम्बा पनि छन्।
यसैगरी बैठकमा भाग लिनका लागि दार्जीलिङ जिल्ला भाजपाबाट जिल्ला अध्यक्ष (सङ्गठन) डा. कल्याण देवान दिल्ली प्रस्थान गरेका छन्।