जन्तर मन्तरमा धरना प्रदर्शन गर्दै विमलपन्थी गोजमुमोका समर्थकहरू। |
दार्जीलिङ, 30 सेप्टेम्बर : छुट्टै राज्य गोर्खाल्याण्ड गठनको माग र दार्जीलिङ पहाड़मा बङ्गाल सरकारले लोकतन्त्रको हत्या गर्दै खुल्ला रूपमा गरेको अन्याय अत्याचारको विरोधमा आइतवार विमल गुरुङपन्थी गोर्खा जनमुक्ति मोर्चा (गोजमुमो) –को दिल्ली-एनसीआर शाखाले जन्तर-मन्तरमा धरना प्रदर्शन गऱ्यो।
स्मरणरहोस्, पछिल्लो सातादेखि गोजमुमोको दिल्ली-एनसीआर शाखाले यो धरना-प्रदर्शन कार्यक्रमलाई साप्ताहिक रूपमा जारी राख्ने निर्णय गरेको थियो। यसै निर्णयअनुरूप आज पनि धरना-प्रदर्शनलाई जारी राखेको हो।
आज बिहान प्रायः 11 बजेदेखि शुरु भएको यो धरना प्रदर्शनमा विमलपन्थी मोर्चा समर्थकहरूले बङ्गाल सरकारको विरोध तथा छुट्टै राज्य गोर्खाल्यान्डको पक्षमा चर्को नारा लगाएका थिए।
यता, जनसंवादसँग बोल्दै युवा मोर्चा कार्यकर्ता समीर थुलुङ राईले बङ्गाल सरकारले दार्जीलिङ पहाड़मा संवैधानिक गोर्खाल्यान्ड चाहनेहरूलाई गैरकानुनी ढङ्गमा अन्याय अत्याचार गरी सताउने कार्य गरिरहेकोले पनि यो विरोध प्रदर्शन आयोजन गरेको बताए। छुट्टै राज्य गोर्खाल्यान्डको माग संवैधानिक र सबैभन्दा पुरानो माग रहेकोले केन्द्र सरकारले यसको गठन प्रक्रिया चाँड़ोभन्दा चाँड़ो शुरु गर्नुपर्ने उनले माग पनि गरे। उल्लेखनीय छ, यसै महिनाको 9 र 23 तारिख पनि विमल गुरुङपन्थी गोजमुमो समर्थकहरूले जन्तरमन्तरमा धरना प्रदर्शन कार्यक्रम आयोजन गरी गोर्खाल्यान्डको पक्ष र बङ्गाल सरकारको विरोधमा व्यापक नाराबाजी गरेका थिए।
अर्कोतिर आजको धरना-प्रदर्शनमा गोर्खाल्यान्ड संयुक्त सङ्घर्ष समिति (जीएसएसएस)-का सदस्यहरू पनि सामेल भएका थिए। यसबारे जानकारी गराउँदै जीएसएसएसकी प्रवक्ता अन्जनी शर्मा भुजेलले जु दलले पनि गोर्खाल्यान्डका लागि दिल्लीमा काम गर्छ, त्यो दललाई जीएसएसएसले सहयोग र समर्थन गर्ने बताइन्। यसैले पनि आजको धरना-प्रदर्शनमा जीएसएसएसका सदस्यहरूले भाग लिएको उनको भनाइ छ।