क्रामाकपाले केवल छुट्टै राज्य गोर्खाल्याण्ड देखेको छः अरुण घतानी

0
871

दार्जीलिङ, 15 दिसम्बरः आउँदो वर्ष हुने  बङ्गाल विधानसभा चुनाउमा क्रान्तिकारी मार्क्सवादी कम्युनिस्ट पार्टी (क्रामाकपा)-ले कुनै पनि निर्णय लिन सक्नेछ। तर, 2017-को आन्दोलनमा मारिएका 13 जना शहीदहरूको उत्सर्गलाई पनि नभुल्ने पार्टीले प्रतिबद्धता जाहेर गरेको छ।

आज स्थानीय गोर्खा दुःख निवारक सम्मेलन भवनमा पार्टीको 24औं स्थापना दिवस समारोहलाई सम्बोधन गर्ने क्रममा नै गणतान्त्रिक क्रान्तिकारी युवा मोर्चा महासचिव अरुण घतानीले भने, “क्रामाकपाको एउटै माग हो छुट्टै राज्य गोर्खाल्याण्ड, जसका लागि पार्टीले कुनै सम्झौता गर्नेछैन। अर्जुनले माछाको आँखा देखे जस्तै क्रामाकपाले पनि केवल छुट्टै राज्य गोर्खाल्याण्ड देखेको छ। तर, यसका लागि केन्द्र सरकारले पनि ढिलाई गरिरहनु हुँदैन। यसका लागि केन्द्र सरकारले गोर्खा जाति साथै क्रामाकपालाई अन्डर एस्टिमेट गर्नु हुँदैन।’’

उनका अनुसार केन्द्र सरकारले गोर्खा जातिको न्यायसङ्गत माग पूरा गर्न ढिलाईं गरिरहेको छ। अब शीघ्र यो मागलाई केन्द्र सरकारले पूरा गर्नुपर्ने उनले माग गरे।

“वर्तमान समयमा दार्जीलिङ पहाड़मा राजनैतिक दलहरूको होड़ चलिरहेको छ। तर यो राजनैतिक होड़बाजी नभएर कलकत्ताले लेखेको स्क्रिप्टमा कलकत्ता ताक्ने होड़ हो’’, घतानीले थपे, “दार्जीलिङ पहाड़को यस्तो राजनैतिक पृष्ठभूमिभित्र क्रामाकपाले नयाँ सोचअनुसार अघि बढ्ने काम गरिरहेको छ। हालसम्म दार्जीलिङ पहाड़का जनता केवल ढाँटिएका छन्। अनि, भेंड़ा-खसीजस्तो कलकत्ताको हातमा बेच्ने काम गरिरहेका छन्।’’

उनले छुट्टै राज्य गोर्खाल्याण्डका लागि एकपल्ट दार्जीलिङ पहाड़, तराई अनि डुवर्सका जनताले क्रान्तिकारी मार्क्सवादी कम्युनिष्ट पार्टीलाई मौका प्रदान गर्नुपर्ने अपील गर्दै जनता अब अन्य पार्टीका नेताहरूको लोलोपोतोमा लाग्न नहुने आह्वान गरे।

क्रामाकपाले दार्जीलिङका लागि एउटा ठोस व्यवस्था चाहेको अनि क्रामाकपा अध्यक्ष आरबी राईकै नेतृत्वमा छुट्टै राज्य गोर्खाल्याण्डको माग पूर्ण भएर जाने अरुण घतानीले दावी गरे।

‘’तर, यसका लागि जनताले आरबी राईजस्ता एक इमानदार नेतालाई साथ दिनुपर्छ। किनभने, पूर्व सांसद आरबी राईहरूकै पहल र सक्रियतामा नेपाली भाषाले मान्यता पाउन सकेको इतिहास कसैले भुलेको छैन’’, उनले थपे, “यसैले गोर्खाल्याण्डका लागि आरबी राईबाहेक अन्य कोही पनि सक्षम हुँदैन भन्ने हालसम्मको राजनैतिक इतिहासले स्पष्ट पारिसकेको छ।’’

उल्लेखनीय छ, छुट्टै राज्य गोर्खाल्याण्डको एकमात्र माग लिएर नै मार्क्सवादी कम्युनिस्ट पार्टी (माकपा)-बाट छुट्टिएर क्रामाकपाको गठन भएको थियो, जसले आज 24 वर्ष पूरा गरिसकेको छ भने अहिलेसम्म पनि पार्टी यसै मागका लागि अघि बढ़िरहेको छ।

आज पार्टीको स्थापना दिवस समारोहमा पार्टीले अतिथिका रूपमा बीपी बजगाइँ, स्वराज थापा आदिलाई पनि निमन्त्रणा गरेको थियो।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here