भाजपाले गोर्खा जातिका लागि अवश्यै ठोस कार्य गर्नेछः विप्लव राई

0
878

दार्जीलिङ, 16 दिसम्बर:  केही दिनअघि अखिल भारतीय गोर्खा लीग (अभागोली) त्यागेर भारतीय जनतामा पार्टी (भाजपा)-मा सामेल भएका विप्लव राईले भाजपानेतृत्व केन्द्र सरकारले गोर्खा जातिका लागि अवश्यै ठोस कार्य गर्ने दावी गरेका छन्। तर जनता भने आत्तिनु नहुने उनको भनाइ छ।

आज दार्जीलिङ प्रेस गिल्डमा पत्रकारहरूलाई सम्बोधन गर्दै राईले यस्तो दावी गरेका हुन्।

“भारतीय जनता पार्टीका शीर्ष नेतृत्ववर्ग गोर्खा जातिको इच्छा पूरा गरेरै छोड्न प्रतिबद्ध छन्। उनीहरूले गोर्खा जातिलाई विश्‍वासघात नगर्ने वचन दिएका छन्। यसका लागि केवल सही समयको प्रतीक्षा गर्नुपर्छ’’, उनले थपे, “भाजपाका शीर्ष नेतृत्वहरूको कुरा बुझेपछि उनीहरूको कुरा पत्यारलाग्दो स्पष्ट भएपछि म भाजपामा सामेल भएको हुँ। किनभने, मेरो भाजपामा सामेल हुने निर्णय केवल गोर्खा जातिको हितमा छ अनि हुनेछ।’’

राईका अनुसार भाजपाले यदि गोर्खा जातिलाई धोका दिए, भाजपाको विरोध सबैभन्दा पहिला उनले नै गर्नेछन्।

उनले थप भने, “गोर्खा जातिले चाहेको छुट्टै राज्य नै मेरो पनि माग र आकांक्षा हो। यसैले भाजपाले आफ्नो चुनावी घोषणा-पत्रमा उल्लेख गरेको स्थायी राजनैतिक समाधान (पीपीएस) छुट्टै राज्य नै हुनपर्छ भन्ने मेरो चाहना छ। तर, अहिलेसम्म यसका लागि आन्दोलन गर्ने पार्टीहरू कमजोर भएको कारण नै अलग राज्यको गठन हुन नसकेको हो।’’

भाजपा नेतृत्वावधीन केन्द्र सरकारले गोर्खा जातिका लागि अवश्यै केही गर्छ भने विमल गुरुङहरूले किन भाजपा वा एनडीएको साथ छोड़े भन्ने प्रश्‍न गर्दा राईले भने, “विमल गुरुङहरूले एनडीएको साथ छोड़े, तर पहाड़का सचेत जनता अझै भाजपाकै विश्‍वासमा बसिरहेका छन्। किनभने, जनता धेरै थरिका हुन्छन्, एक थरिका जनता सचेत छन् अनि अर्को थरिका जनता कुनै पार्टी नेताहरूका भक्त छन्। यसैले सचेत जनताले सबै कुरा बुझेका छन् अनि उनीहरू अझै पनि भाजपाले केही गर्छ भन्ने विश्‍वासमा बसेका छन्। यसैले जनताले नेता पछ्याउने होइन, मुद्दाका लागि चाप दिने कार्य गर्नुपर्छ।’’

विप्लव राईले थपे, “यदि कुनै व्यक्ति विशेषलाई मात्रै पछ्याउने हो भने छुट्टै राज्यको सपना देख्नु उचित हुँदैन। कुनै पनि चीजका लागि धैर्य चाहिन्छ, तर धैर्य नभएको कारण नै धेरै मानिस फूलदेखि खरानी पनि बनेका छन्।’’

उनले गोर्खा जातिका लागि भाजपा सरकारले 2021-को बङ्गाल विधानसभा चुनाउअघि नै केही सकारात्मक कार्य गरेर देखाउने आशा व्यक्त पनि गरेका छन्।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here