गान्तोक, 18 दिसम्बरः लिम्बू तामाङलाई सिक्किम विधानसभामा सीट दिलाउने मुद्दामा एसकेएम सरकारको पहल सही दिशामा अघि बढ़िरहेको लोकसभा सांसद इन्द्रहाङ सुब्बाले दावी गरेका छन्।
आज पश्चिम सिक्किमको सोरेङमा चासोक-तोङ्गनाम समारोहलाई सम्बोधन गर्दै सांसद सुब्बाले यस्तो दावी गरेका हुन्।
विपक्षीहरूले सीट आरक्षण मुद्दामा राज्य सरकार र एमपीले कति काम गऱ्यो भनेर प्रश्न गर्ने गरेको सन्दर्भमा बोल्दै आफूले जहाँ-जहाँ बोल्नु र लेख्नुपर्छ त्यहाँ बोलेको र लेखेको उनले दावी गरे।
“म एसडीएफ सरकारका सांसदहरूजस्तो संसद भवनको खम्बापछि लुकेर बस्ने सांसद होइन’’, उनले भने, “सांसद चुनिएर गएको 17 महिनाभित्रमा चारवटा संसद सत्रमा सामेल भएर एकपल्ट एलटी सीट र एकपल्ट छुटेका जातगोष्ठीलाई जनजाति मान्यताबारे उठेर बोलेको छु।’’
यसरी नै पटक पटक गृह मन्त्रालय र जनजाति मन्त्रालयका मन्त्रीहरू साथै अन्य मन्त्रीहरू र सांसदहरूलाई विभिन्न माध्यमबाट विश्वासमा ल्याउने काम गरिरहेको पनि उनले थप बताए।
यसो गर्नु पछिको आफ्नो उद्देश्य संसदमा एलटी सीट र 11 जातगोष्ठीलाई जनजाति मान्यताको बील आउँदा सबैले सहयोग र समर्थन गरोस् भन्ने रहेको सांसद सुब्बाले बताए।
हिजो मात्र केन्द्रको भाजपा सरकारले दार्जीलिङको एक टोलीलाई बोलाएर वार्ता गरेको जिकिर गर्दै आफूहरूलाई पनि बोलाउने कुरामा आशावादी रहेको सांसद सुब्बाले आफ्नो सम्बोधनमा थप बताए।