सिङ्ताम चियाकमान फेरि बन्द

0
1313

दार्जीलिङ, 19 दिसम्बरः सिङ्ताम चियाकमान फेरि बन्द भएको छ। बुधबार प्रबन्धकपक्षले कमान बन्द भएको नोटिस टाँसेपछि सिङ्ताम चियाकमान फेरि बन्द भएको हो, जसका कारण यस चियाकमानका श्रमिकहरू बिचल्लीमा परेका छन्।

यसबारे गोरामुमोको श्रमिक सङ्गठन हिमालयन प्लान्टेशन वर्कर्स युनियन (एचपीडब्ल्यूयू)-का महासचिव एसके लामा जानकारी गराएका छन्।

उनका अनुसार हिजै यस चियाकमानका समस्यालाई लिएर एचपीडब्ल्यूयूले दार्जीलिङ टी एसोसिएशन (डीटीए), टी बोर्ड अव् इन्डिया र सांसद राजु बिष्टलाई पत्राचार गरिसकेको छ भने हिज नै श्रमायुक्त दार्जीलिङलाई पनि यस सम्बन्धमा एक ज्ञापन चढ़ाएको छ।

लामाका अनुसार आज एचपीडब्ल्यूयूले दार्जीलिङका जिल्लापाललाई पनि यससम्बन्धमा एक ज्ञापन चढ़ाउने कार्यक्रम छ।

उल्लेखनीय छ, यस चियाकमानका श्रमिकहरूले दुई पालिको वेतन, स्टाफ-सबस्टाफहरूले एक महिनाको वेतन पाएका छैनन्।

यति मात्रै होइन, सिङ्ताम चियाकमानका श्रमिकहरूले यस वर्षको रहल 5 प्रतिशत बोनस पनि पाएका छैनन्।

त्यसैगरी स्टाफ-सबस्टाफहरूले दुईवर्षको एलटीए पनि पाउनसकेका छैनन्।

चियाकमान बन्द गरिएको नोटिसमा प्रबन्धकपक्ष यी रकमहरूका कुरा उल्लेख गरिएको छ।

उल्लिखित रकमहरू श्रमिकहरूका प्रदान गर्न असमर्थ रहेकै कारण कमान सूचारु चलाउन नसक्ने अवस्थमा पुगेकाले कमान बन्द गरिएको प्रबन्धकपक्षले नोटिसमा उल्लेख गरेको छ।

अर्कोतिर, विनयपन्थी गोजमुमोको श्रमिक सङ्गठन दार्जीलिङ तराई डुवर्स प्लान्टेशन लेबर युनियन (डीटीडीपीएलयू)-का स्थानीय नेता अनुप तामाङले बुधबारदेखि नै सिङ्ताम चियाकमान बन्द भएको बताए।

प्रबन्धकपक्षले सटिक समयमा श्रमिक र कर्मचारीहरूको वेतन, रहल बोनस र अन्य पाउनुपर्ने सहुलियत दिनका सट्टा उल्टै बार्गेनिङ गरेको र यसलाई श्रमिक-कर्मचारीहरूले अस्वीकार गर्दा प्रबन्धकपक्षले कमाननै बन्द गरेको पनि उनले बताए।

तामाङका अनुसार पछिल्लोपटक 15 प्रतिशतको बोनस पनि अन्तिम समयमा दिइएको थियो।

यति मात्रै होइन, त्यो 15 प्रतिशत बोनस दिँदा पनि एक घण्टाको ‘प्रोरटा’ लगाएर दिइएको उनको बताए।

उनका अनुसार

‘‘हिजो र अस्तिका दिन हामीले वेतनको माग गर्दै प्रबन्धकहरूसँग कुरा गरेका थियौँ। श्रमिकहरूलाई केवल 6 दिनको र कर्मचारीलाई केवल 15 दिनको वेतन दिने कुरा एमडीले गऱ्यो। त्यसरी त भएन’’, अनुप तामाङले थपे, “श्रमिकहरूको कल्टिभेसन वर्क नपुगेको बताउँदै सेकेन्ड वेतनबाट 40 प्रतिशत काटेर 60 प्रतिशत मात्र दिन्छु भनेर एमडीले जबर्जस्ती गऱ्यो। यो त श्रमिकहरूमाथि ठूलो अन्याय र अत्याचार भयो।”

उनले थपे, “एमडीले त यसो भन्दैछ, तपाईंहरूले दिनुहुन्छ कि के गर्नु हुन्छ भनेर हामीले सहप्रबन्धकहरूलाई सोध्यौँ। उनीहरूले एमडीलाई फोन गरे गर्दा एमडीले ‘म पैसा पठाउँदिनँ, तिमीहरूले जे गर्नु छ गरेर निस्की’ भनेपछि यति धेरै रकम दिने ती सहप्रबन्धकहरूको क्षमता भएन। त्यसैले उनीहरूले प्रबन्धकपक्षको पक्षबाट कमान लकआउटको नोटिस लेखेर कमानबाट गएका छन्।”

जानकारीका अनुसार सिङ्ताम चियाकमानका श्रमिक-कर्मचारी गरी करिब 850 जना कार्यरत् छन्। उल्लेखनीय छ, सिङ्ताम चियाकमान घरी घरी बन्द हुने गरेको छ। पछिल्लो फरवरी महिनामा करिब एक महिना यो चियाकमान बन्द भएको थियो।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here