मिशन बङ्गालः ममताको राज्यमा आज शाह गर्जिने, तृणमूलका असन्तुष्ट नेताहरू भाजपा सामेल हुने सम्भावना

0
1214

कोलकाता, 19 दिसम्बरः तृणमूल कङ्ग्रेसमा बढ़्दो विद्रोहबीचै ‘मिशन बङ्गाल’-मा केन्द्रिय गृहमन्त्री अमित शाह कोलकाता आइपुगेका छन्।

दुइदिने बङ्गाल भ्रमणमा आएका शाह हिजै (शुक्रबार) राति कोलकाता ओर्लेका हुन्।

यस भ्रमणावधि उनले आउँदो वर्ष हुने बङ्गाल विधानसभाको रणनीतिको खाका तयार गर्नेछन्। भाजपाका राष्ट्रिय अध्यक्ष जेपी नड्डा कोरोना सङ्क्रमित बनेपछि स्वयं शाहले चुनावी मोर्चा सम्हालेका छन्।

उनले आज मिदनापुरमा एक ऱ्याली गर्नेछन्। यसअवधि तृणमूल सुप्रिमो ममता ब्यानर्जीसँग असन्तुष्ट रहेका तृणमूल नेताहरू भाजपामा सामेल हुने सम्भावना छ।

सूत्रका अनुसार आज तृणमूल कङ्ग्रेसका 9  विधायक र एक सांसद भाजपामा सामेल हुनसक्छन्, जसमा सुवेन्दु अधिकारी र शीलभद्र दत्ता पनि सामेल छन्।

अहिलेघरी केन्द्र र ममता सरकारबीच सम्बन्ध अत्यधिक चिसिएको छ। यस्तोमा अमित शाहको यो दुइदिने भ्रमणलाई धेरै महत्त्वपूर्ण मानिएको छ।

भाजपाका प्रदेश अध्यक्ष दिलीप घोषका अनुसार गृहमन्त्री अमित शाह र पार्टी अध्यक्ष जेपी नड्डा प्रत्येक महिना बङ्गाल भ्रमणमा आउनेछन्। आउँदो बङ्गाल विधानसभाको चुनाउ हुँदैछ। अप्रेल-मई महिनामा चुनाउ हुने सम्भावना छ।

केही दिनअघि मात्र जेपी नड्डा बङ्गाल भ्रमणमा आएका थिए। त्यसबेला डायमन्ड हार्बर गइरहेको बेला नड्डाको कन्भयमाथि तृणमूल कङ्ग्रेसका कथित् समर्थकहरूले हमला गरेका थिए।

अमित शाहको आज (19 दिसम्बर)-को कार्यक्रम

बङ्गाल भ्रमणको पहिलो दिनको पहिलो कार्यक्रमअन्तर्गत शाहले कोलकाता श्रीरामकृष्ण मिशन आश्रममा बिहान 10.45 बजी स्वामी विवेकानन्दलाई श्रद्धाञ्जली अर्पण गर्नेछन्।

अपराह्न 12.30 बजी उनले मिदनापुरमा माँ सिद्धेश्वरी मन्दिरमा पूजा गर्नेछन्। यसपछि उनी त्यहीं स्वतन्त्रता सेनानी खुदीराम बोसलाई  श्रद्धाञ्जली अर्पण गर्नेछन्। त्यसपछि अपराह्न 1.25 बजी देवी महामाया मन्दिरमा पूजा गर्नेछन्।

त्यहाँ अमित शाह मिदनापुरको बेलिजुरी गाउँ जानेछन्। त्यहाँ उनले एक किसान परिवारको घरमा खाना खानेछन्।

2.30 बजी उनले मिदनापुर कलेज मैदानमा एक ऱ्याली गर्नेछन्।

बेलुकी 7.30 बजी उनले ‘द वेस्टिन’ कोलकातामा  राज्यका केन्द्रिय मन्त्री, सङ्गठन सचिव, जोनल पर्यवेक्षक र प्रदेश भाजपा महासचिवहरूसँग चुनावी तयारीको समीक्षा गर्नेछन्।

भोलि (20 दिसम्बर)  शाहको कार्यक्रम

बङ्गाल भ्रमणको दोस्रो दिन भोलि गृहमन्त्री अमित शाह बिहान 11 बजी विश्व भारती विश्वविद्यालय, शान्ति निकेतन जानेछन्। त्यहाँ रवीन्द्र भवनमा उनले गुरु रवीन्द्रनाथ टेगोरलाई श्रद्धाञ्जली अर्पण गर्नेछन्।

शान्तिनिकेतनमा शाहले पत्रकारहरूलाई सम्बोधन पनि गर्नेछन्। त्यसपछि उनी विश्वविद्यालयको सङ्गीत भवन जानेछन्। मध्याह्न 12 बजी शाहले यहाँको बाङ्ग्लादेश भवन सभागारमा सम्बोधन राख्नेछन्।

त्यहाँबाट उनी वीरभूम प्रस्थान गर्नेछन्। वीरभूमको श्यामबती, पारुलदङ्गामा अपराह्न 12.50 बजी बाउल गायक परिवारसँग उनले भोजन गर्नेछन्।

अपराह्न 2 बजी अमित शाह बोलपुर स्टेडियम रोडस्थित हनुमान मन्दिरबाट बोलपुर सर्कलसम्म रोड शो गर्नेछन्।

बेलुकी 4.45 बजी उनले मोहोर कुटीर रिसोर्टमा पत्रकार सम्मेलन गर्नेछन्। त्यसपछि अमित शाह दिल्ली प्रस्थान गर्नेछन्।

200 भन्दा बढ़ी सिटको लक्ष्य

भाजपाले आउँदो वर्ष हुने विधानसभा चुनाउमा 294 सिटमध्ये 200 भन्दा बढ़ी सिट जित्ने लक्ष्य राखेको छ।

शाह र नड्डाले धेरैपटक थुप्रै मञ्चबाट यसको घोषणा गरिसकेका छन्। 2019 को लोकसभा चुनाउमा भाजपाले बङ्गालमा धेरै राम्रो प्रदर्शन गर्दै 42 लोकसभा सिटमध्ये 18 सिट जितेको थियो।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here