विनयलाई विमलको चेताउनी- मलाई हरियो झण्डा देखाउँछु भन्नेलाई उल्टै मैले रातो झण्डा देखाउन नपरोस्

0
1106

दार्जीलिङ, 20 दिसम्बरः ‘‘म पहाड़ चढ़्न हरियो झण्डा देखाउन पर्छ भन्ने नेतालाई अब उल्टै रातो झण्डा देखाएर पहाड़बाटै बाहिर पठाउन नपरोस्‘’, आज दार्जीलिङको मोटर स्ट्याण्डबाट गोर्खा जनमुक्ति मोर्चा अध्यक्ष विमल गुरुङले विनय तामाङलाई यस्तो चेताउनी दिए।

केही साताअघि विनय तामाङले आफूले हरियो देखाएपछि मात्रै विमल गुरुङ पहाड़ चढ़्न पाउने बयान दिएका थिए।

यसै बयानमाथि कटाक्ष गर्दै गुरुङले आज विनय तामाङको नाम नलिई उनलाई रातो झण्डा देखाएर पहाड़बाट बाहिर पठाउन नपरोस् भन्ने चेताउनी दिएका हुन्।

यसका साथै उनले विनय तामाङ, अनित थापाहरूले जीटीएमा आएको 17 सय करोड़ रुपियाँको 70 प्रतिशत राशि घोटाला गरेको आरोप दोहोऱ्याउँदै यसमाथि राज्य सरकारले जाँच गराउनुपर्ने माग गरे।

“मुख्यमन्त्री ममता ब्यानर्जीले यस्ता व्यक्तिहरूलाई जीटीएमा राख्नु हुँदैन‘’, विमलले भने।

यसैबीच, गुरूङले आज फेरि राज्यकी मुख्यमन्त्री ममता ब्यानर्जीलाई तेस्रोपल्ट राज्यकी मुख्यमन्त्री बनाउने सङ्कल्प गर्दै यसका लागि सम्पूर्ण जनताको साथ चाहिने बताए।

उनले भने, “हामी ममता ब्यानर्जीलाई तेस्रोपल्ट राज्यकी मुख्यमन्त्री बनाउन चाहन्छौं अनि उत्तर बङ्गालका सम्पूर्ण विधानसभा आसनमा तृणमूल कङ्ग्रेसलाई जीत दिलाउन पार्टीले कठोर कार्य गर्नेछ। तर 2024-को लोकसभा चुनाउमा जुन पार्टीले गोर्खाल्याण्डको मुद्दालाई समर्थन गर्नेछ, गोर्खा जनमुक्ति मोर्चाले त्यसै पार्टीलाई सहयोग प्रदान गर्नेछ।’’

विमलले राजनीतिमा कोही पनि स्थायी मित्र र स्थायी दुश्मन हुन नसक्ने बताउँदै 2021-को विधानसभा चुनाउका लागि तृणमूल कङ्ग्रेससित राजनीतिक गठबन्धन मात्रै गरेको पनि स्पष्टीकरण दिए।

यति मात्रै होइन, उनले 2007-देखि 2019-सम्म पार्टी कार्यकर्ताहरूमाथि लागेका सम्पूर्ण पुलिस केश हटाउनुपर्ने माग विषय लिएर मुख्यमन्त्रीसित कुरा गरिसकेको पनि जानकारी गराए।

3 वर्षपछि दार्जीलिङ आएका विमल गुरुङले आफ्नो घरको दैलो टेक्न अझै धेरै समय लाग्ने बताउँदै 10-12 दिन दार्जीलिङ बसेपछि तराई-डुवर्सको भ्रमणमा जाने पनि जनाए। अर्कोतिर उनले आज, भोलि नभए पर्सि पहाड़का तीनवटा विधानसभा क्षेत्रमा चुनाउमा भए पनि आफूले नै जित्ने ठोकुवा पनि गरे।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here