गान्तोक, 23 दिसम्बरः भारतीय जनता पार्टी, अनुसूचित जाति मोर्चाका राष्ट्रिय अध्यक्ष लालसिंह आर्या दुइदिने सिक्किम भ्रमणमा आइपुगेका छन्।
आज बिहान पार्टी प्रदेश अध्यक्ष डीबी चौहान, प्रदेश अनुसूचित जाति मोर्चा अध्यक्ष वीरेन्द्र पौरालीसहित मोर्चा पदाधिकारीहरूद्वारा राज्यको प्रवेशद्वार रम्फू अनि प्रदेश पार्टी कार्यालय, सिङ्ताममा स्वागत जनाइयो।
सिङ्तामस्थित पार्टी कार्यालयमा आर्याले प्रदेश एससी मोर्चाका कार्यकर्ताहरूसित एक बैठक गरी मोर्चाको साङ्गठनिक विस्तार अनि गतिविधिबारे विस्तृत रूपमा जानकारी लिए।
यस अवसरमा पार्टी प्रदेश अध्यक्ष डीबी चौहान र महासचिव भरत दुलालको विशेष उपस्थिति थियो।
बैठकमा प्रदेश एससी मोर्चा अध्यक्ष वीरेन्द्र पौरालीले राज्यमा एससी मोर्चाको सांगठनिक विस्तार अनि गतिविधिबारे जानकारी गराएका थिए भने प्रदेश अध्यक्ष डीबी चौहानले प्रदेशमा पार्टी अनि एससी मोर्चाबीच उचित समन्वयका साथ साङ्गठनिक कार्यहरू भइरहेको अवगत गराए।
आफ्नो सम्बोधनमा मोर्चा राष्ट्रिय अध्यक्ष लालसिंह आर्याले सिक्किम भ्रमणको औचित्य अनि उद्देश्यमाथि प्रकाश पार्दै एससी मोर्चालाई राज्यमा अझ सशक्त अनि उत्तरदायी बनाउनुपर्ने कुरामा जोड़ दिएका छन्।
यस क्रममा उनले केन्द्र सरकारद्वारा अनुसूचित जातिहरूका लागि लागू गरिएका सबै केन्द्रिय योजनाबारे पनि उनले प्रकाश पारे।