विमललाई अनितको चुनौती- आजदेखि एक अभिभावक बनेर म दार्जीलिङ बस्नेछु, खेदेर देखाओस्

0
998

दार्जीलिङ, 26 दिसम्बर: विनय तामाङपन्थी गोर्खा जनमुक्ति मोर्चा महासचिव अनित थापाले आजदेखि आफू दार्जीलिङमा बस्ने अनि आफूलाई दार्जीलिङबाट खेदेर देखाउने विमल गुरुङ चुनौती दिए।

उनले भने, “आजदेखि म दार्जीलिङमा एक अभिभावक बनेर बस्नेछु, यहाँबाट विमल गुरुङले मलाई खेदेर देखाऊन्।’’

उनले थपे, “म तिम्रो सुक्खा हुङ्कारसँगह डराउँदिन। दार्जीलिङवासी तपाईंहरू ढुक्कैसँग बन्नुस्, यस्तो हुङ्कारलाई हामी राम्रो जवाफ दिएको हुनेछौँ।”

थापाले खरसाङमा आफ्नो कान्छी औंलीसम्म पनि हल्लाउन नसक्ने दावी गर्दै जनताले आफ्नो खुशी र इच्छासित बस्न, नाँच्न पाउनुपर्ने पनि बताए।

आज विनयपन्थी मोर्चा महासचिव अनित थापाको नेतृत्वमा सोनादाबाट शुरू भएको परिवर्तन पदयात्रा दार्जीलिङको मोटर स्ट्याण्डमा आएपछि एक जनसभामा परिणत भएको थियो, यसै जनसभालाई सम्बोधन गर्दै थापाले आजदेखि केही समयका लागि दार्जीलिङमा नै एक अभिभावक बनेर बस्ने घोषणा गरे।

उल्लेखनीय छ, अहिले विमल गुरुङ पनि दार्जीलिङमा नै छन्। जनसभालाई सम्बोधन गर्ने क्रममा आज अनित थापा निकै आक्रोशित बनेका थिए, जसले विमल गुरुङले हाल दार्जीलिङमा धम्की दिने राजनीति शुरू गरिसकेको आरोप लगाए।

“हामीले यस्तै नीतिको विरोध गरेर विमल गुरुङको साथ छोड़ेका हौँ। अब दार्जीलिङ पहाड़मा धम्कीको राजनीति होइन, विकास, रोजगारको राजनीति हुनपर्छ’’, थापाले थपे, “यसैलाई ध्यानमा राखे हामीले राज्य सरकारसित मिलेर काम गरिरहेका छौं। जसको फलस्वरूप, राज्य सरकारले दार्जीलिङ पहाड़का लागि हिल युनिभर्सिटी दिइसकेको छ, धेरै रोजगार दिने काम पनि गरिरहेको छ। हामी अझै पनि राज्य सरकारसित मिलेर दार्जीलिङका बेरोजगार युवा-युवतीहरूका भविष्य उज्ज्वल बनाउने कार्य गर्नेछौँ।’’

दार्जीलिङका जनतालाई माफ माग्दै आफ्नो सम्भाषण शुरू गर्ने थापाले विमल गुरुङसँगै पहाड़ छोड़ेर हाल आफ्नो घर फर्किएका युवाहरूलाई पनि आफ्नो पार्टीको ढोका खुल्ला रहेको बताए।

उनले भने, “यी युवाहरूले गलत नेतालाई साथ दिइरहेका छन्। उनीहरू गोर्खाल्याण्डका लागि भनेर नै आफ्नो घर-परिवार छोड़ेर साढ़े 3 वर्षसम्म बाहिर बसेका थिए। तर, उनीहरूका नेताले केही ल्याएनन्। अब दार्जीलिङ पहाड़मा गोर्खाल्याण्डको भावनात्मक मुद्दा बोकेर गरिने राजनीति बन्द हुनपर्छ। गोर्खाल्याण्ड हाम्रो आमा हो, तर आमालाई लिलाम गर्ने राजनीति गरेर क्षेत्रीय व्यवस्थाको चौकीमा बस्ने नेताहरूलाई जनताले राम्ररी बुझ्नपर्छ। मलाई भोटको राजनीति गर्नुछैन।’’

उनले आज सोनादाबाट शुरू गरिएको पदयात्राको कारण दार्जीलिङका धेरै मानिसले असुविधाको सामना गर्न परेको विषयमाथि जोड़ दिँदै अघि भने, “अहिलेको समय दार्जीलिङको पर्यटन, गाड़ी चालकहरूको आय, होटलहरूको व्यवसाय बढ़ाउने हो। तर, आजको पदयात्राले धेरैलाई दुःख भएको हुनसक्छ, यसका लागि क्षमा चाहन्छु। तर, यो यात्रा अशान्तिलाई हटाई शान्ति ल्याउने यात्रा हो। एकलकाँटे नीति, पहाड़लाई सताउने, जलाउने र दुःख दिने क्रियाकलापमा परिवर्तन ल्याउने यात्रा हो। यसैका लागि पनि आजको यो पदयात्रा अत्यावश्यक थियो, जसमा अधिकाधिक मानिसहरूले सहभागिता जनाएर दार्जीलिङ पहाड़लाई साँच्चै परिवर्तन चाहेको उदाहरण दिएका छन्।’’

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here