गिरी जयन्ती पालनः साहित्यकार मटिल्डा राई र सङ्गीतकार मधुसुदन लामालाई गिरी पुरस्कार प्रदान

0
1162

दार्जीलिङ, 27 दिसम्बरः जातीय कवि अगमसिंह गिरीको 93औं जन्म जयन्ती समारोहमा मानिसहरूको न्यून उपस्थिति देखेपछि जीटीए बीओएका अध्यक्ष अनित थापा क्षुब्ध बने।

यसैले उनले जीटीएको सूचना एवं सांस्कृतिक विभागलाई अर्को वर्षदेखि राम्रो प्रकारले तीन दिनव्यापी गिरी जयन्ती पालन गर्ने पनि निर्देश दिए।

आज प्रथम चरणको गिरी जयन्ती स्थानीय लुइस जुब्ली परिसरमा अवस्थित जातीय कवि अगम सिंह गिरीको सालिग परिसरमा पालन गरिएको थियो भने दोस्रो चरणको कार्यक्रम गोर्खा दुःख निवारक सम्मेलन भवनमा पालन गरिएको थियो। तर, यस भवनको प्रेक्षागृहमा मानिसहरूको धेरै पात्लो उपस्थिति देखेपछि थापा निराशसँगै क्षुब्ध पनि बने।

उल्लेखनीय छ, गोर्खा रङ्गमञ्च भवनको प्रेक्षागृहको क्षमता 700 भन्दा अधिकको छ भने यहाँ आजको कार्यक्रममा बलैले 100 जतिको उपस्थिति थियो, जुन कार्यक्रममा वरिष्ठ साहित्यकार मटिल्डा राई र वरिष्ठ सङ्गीतकार/गीतकार मधुसुधन लामालाई गिरी पुरस्कारले सम्मानित गरिएको थियो।

समारोहलाई सम्बोधन गर्दै थापाले भने, “गोर्खा जातिलाई एकताको सूत्रमा बाँध्ने, जातिलाई सजक बनाउने गोर्खा समुदायका महान् हस्ती अगमसिंह गिरीको जन्म जयन्ती समारोह पालन गरिएको सानो हल पनि भरिन सक्तैन। विभागले यसमाथि विशेष ध्यान दिनुपर्छ। अब विभागले गिरी जयन्ती पालन गर्ने तरिकामा परिवर्तन ल्याउनुपर्छ। अब एक दिन होइन, गिरी जयन्ती तीन दिनसम्म पालन गर्नुपर्छ, जसमा कवि गोष्ठी, कविता प्रतियोगिता जस्ता कार्यक्रमहरू राख्नुपर्छ अनि कविहरूलाई कागज, कलम किन्ने व्यवस्था पनि गरिदिनुपर्छ।’’

उनले थपे, “हामीजस्ता साना राजनैतिक नेताहरूको ठूल्ठूला नक्सा भएका पोस्टर, फ्लेक्सहरू जताततै लगाइन्छ, तर गिरी जयन्तीको समय पनि उनको फोटो भएका फ्लेक्सहरू दार्जीलिङमा कतै देखिँदैन। आजको गिरी जयन्ती मनाउनैपर्छ भनेर मनाएको जस्तो मात्रै लाग्यो, तर अब मनले गिरी जयन्ती पालन गर्नुपर्छ। हिजो मात्रै हामी जस्तो व्यक्तिले एक जनसभा गर्दा हजारौँ मानिसको भीड़ थियो, तर आज गोर्खा जातिका धरोहर मानिने अगमसिंह गिरीको जन्म जयन्ती पालन गर्दा मानिसहरूको उपस्थिति अति नै नगण्य छ। गिरी जयन्तीलाई एउटा पर्वको रूपमा पालन गर्नुपर्ने थियो, यसैले अर्को वर्षदेखि गिरी जयन्तीलाई तीन दिनव्यापी पर्वको रूपमा पालन गर्नुपर्छ।’’

यसैबीच, आज उनकै हातबाट साहित्य विधामा साहित्यकार मटिल्डा राई अनि सङ्गीत विधामा सङ्गीतकार मधुसुदन लामालाई गिरी पुरस्कार प्रदान गरियो, जसमा एक लाख रुपियाँको चेकसँगै स्मृति चिह्न आदि सामेल थिए।

यसका साथै जीटीए बीओएका अध्यक्ष थापाले अर्को वर्षदेखि  गोर्खा जातिका विभूतिहरूलाई बर्सेनि गोर्खा रत्न पुरस्कार प्रदान गरिने पनि घोषणा गरे भने बर्सेनि प्रदान गरिने शिवकुमार राई स्मृति पुरस्कार वसन्तकुमार राईलाई, अरुणा लामा पुरस्कार डीबी घिसिङलाई आगामी नेपाली नयाँ वर्ष पहिलो बैशाखको दिन प्रदान गरिने पनि जानकारी गराए।

यति मात्रै होइन, थापाले जातीय कवि गिरीको सालिक गोर्खा रङ्गमञ्च भवन परिसरमा स्थापना गरिने पनि घोषणा गरे।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here