दार्जीलिङ, 29 दिसम्बरः आजदेखि दार्जीलिङ, पुल-बिजनबारीबीच चल्ने मालवाहक गाड़ीहरू अचल बनेका छन्।
विशेष गरी दार्जीलिङ र पुल-बिजनबारीको मध्यमा पर्ने लिजाहिल चियाबगानअन्तर्गत् मुन्सीधुराको मूल सड़कबीचमा निर्माण भएको कल्भर्ट भत्केका कारण रुष्ट बनी दार्जीलिङ ट्रक ड्राइभर एसोसिएशनको बिजनबारी शाखाले अनिश्चितकालका लागि आजदेखि मालवाहक गाड़ी वा ट्रकहरूको चलाचल बन्द गरेको हो।
यो कल्भर्ट भत्केपछि नै एसोसिएशनले खण्ड विकास अधिकारी साथै पुलिस प्रशासनलाई पत्राचार गरी कल्भर्टको शीघ्र निर्माणको माग गरेको थियो।
यदि यो कल्भर्ट नबनाए एसोसिएशनले आज 29 दिसम्बरदेखि अनिश्चितकालका लागि ट्रकहरूको चलाचल ठप्प बनाउने पनि चेताउनी पनि त्यसबेला दिइएको थियो। तर, आफ्नो माग र सड़कको अवस्थामाथि प्रशासन गम्भीर नबनेपछि नै ट्रक ड्राइभर एसोसिएशनले अनिश्चितकालका लागि ट्रकहरू बन्द गर्ने घोषणा गरेको हो।
उल्लेखनीय छ, पुल-बिजनबारी, कैंजले साथै यस वरिपरिका क्षेत्रहरूका लागि ठूला गाड़ी चल्ने यो सड़क नै एक मुख्य माध्यम हो। तर, यस सड़कमा नै निर्माण भएको कल्भर्ट भत्किएपछि यहाँ कुनै पनि समय ठूलो दुर्घटना हुनसक्ने सम्भावना बढ्दै गइरहेको छ।
यस सड़क भएर आउजाउ गर्ने साना गाड़ीहरूले ठूलो जोखिम उठाइरहेका छन्, तर ठूला गाड़ीहरू यहाँ आउजाउ गर्नसक्ने अवस्था साँघुरिदै गइरहेको छ।
यसैकारण ट्रक ड्राइभर एसोसिएशनले यहाँ कुनै दुर्घटना हुनअघि नै यस सड़कको निर्माण हुन आवश्यक छ। तर, यसमाथि सम्बन्धित निकायहरूले अझैसम्म कुनै ध्यान नदिएपछि आजदेखि यस सड़क मार्ग भएर कुद्ने मालवाहक गाड़ीहरूको चलाचल बन्द गरिएको हो।
प्राप्त जानकारीअनुसार, वर्ष 2018-को फरवरी महिनामा नै यस सड़क निर्माणका लागि टेन्डर भएको थियो। तर, अहिलेसम्म पनि यो सड़क निर्माण नहुनुमा के रहस्य छ, त्यो कसैले बुझ्न नसकेको पनि ट्रक ड्राइभर एसोसिएशनको भनाइ छ।
यसबारे गाड़ी चालक दिवाकर सुब्बाले भने, “आफ्नो परिवारका लागि गाड़ी चलाउनैपर्छ। बितेको केही महिनाअघि चुङथुङका विभिन्न ठाउँमा सयदिने रोजगारको माध्यमबाट सड़कमा परेका खाल्डोहरू पुर्ने काम गरिएको थियो। जसका कारण गाड़ी चालकहरूलाई गाड़ी चलाउन केही सुविधा भएको थियो, तर अहिले फेरि सड़कको अवस्था जस्ताको त्यस्तै भएको छ।’’
सड़क नबनेसम्मै यहाँका ट्रक चालकहरूले आफ्नो ट्रक नचलाउने चेताउनी दिएका छन्। जसको फलस्वरूप आउँदा दिनमा यस क्षेत्रका मानिसहरूले अझै महँगाइको मार झेल्नुपर्ने स्पष्ट छ।