8.33 प्रतिशतको बोनस नमान्ने, जोइन्ट फोरमले भन्यो – 20 प्रतिशतभन्दा कम्ती बोनस थाप्दैनौं

0
1154
दार्जीलिङको एक चियाकमानमा चिया पत्ती टिप्दै चियाश्रमिक (फाइल फोटो)।

दार्जीलिङ, 30 सेप्टेम्बर : पहाड़का चियाश्रमिकहरूलाई 20 प्रतिशत नै बोनस दिनुपर्ने अड़ानमा जोइन्ट फोरम अड़िग बसेको  छ। फोरमले आइतवार बोनस विषय लिएर बैठक गऱ्यो, जुन बैठकमा दार्जीलिङ टी एसोसिएशनले तोकेको 8.33 प्रतिशतको बोनस दरलाई कुनै पनि अवस्थामा नथाप्ने निर्णय गरेको छ।
बैठकमा डीटीएले तोकेको बोनस दर पहाड़का लागि हेपाइसरह रहेको ठहर गर्दै यसप्रति आपत्ति जनाइयो। आजको बैठकबारे कुराकानी गर्दै जोइन्ट फोरमका सदस्य तथा जनआन्दोलन पार्टीका ब्युरो सदस्य अमर लामाले मालिक पक्षको सङ्गठनले तोकेको दरको बोनस कुनै पनि अवस्थामा नथाप्ने निर्णय लिएको बताए। हाम्रो माग 20 प्रतिशतको दरले पहाड़का चियाश्रमिकहरूले बोनस पाउनुपर्छ भन्ने हो। हामी हाम्रो यो मागमा अडिग छौं। 20 प्रतिशतभन्दा कम्ती दरको बोनस हामी मान्दैनौं, उनले भने।
लामाका अनुसार डीटीएले बोनस एक्ट 1955 –का अनुसार पहाड़का चियाश्रमिकहरूलाई बोनस दिनसक्ने उल्लेख गर्दै राज्यको श्रममन्त्रीलाई पत्राचार गरेको छ। र यो पत्रको प्रतिलिपि पहाड़का सबै श्रमिक सङ्गठनलाई पठाइएको भनिएको छ, जसमा पछिल्लो 105 दिनको बन्द देखाएर 1955 को  बोनस एक्टअनुसार मात्र बोनस दिनसक्ने र त्यसमा मोलतोल समेत नगर्ने लेखिएको छ।
उनका अनुसार पहाड़का चियाश्रमिकहरूलाई बोनस दिनका लागि डीटीएले कुनै सुरसार गरेको छैन। न त द्विपक्षीय बैठक नै आजसम्म डाकेको छ, जसमा बोनसबारे छलफल हुनसकोस्।
उनले भने,  भोलि हामी डीटीएका सचिवलाई भेटेर बोनसका लागि द्विपक्षीय वार्ता डाक्नुपर्ने माग राख्नेछौं। साथै हाम्रो 20 प्रतिशत बोनस दरको माग पनि राख्नेछौं। विभिन्न बहाना बनाएर मालिक पक्षले बोनस दर घटाउन पाउनेछैन।
पहाड़को बोनस दरलाई लिएर सरकारले पहल गरी 20 प्रतिशतको दरले पूजा बोनस दिन सहयोग गर्नुपर्ने जोइन्ट फोरमको माग छ। लामाले भने,  पछिल्लो वर्ष राज्य सरकारले पहल गरेपछि 19.75-को दरले पहाड़का चियाश्रमिकहरूले बोनस पाएका थिए। यसवर्ष पनि राज्य सरकारले पहल गरोस् भन्ने भन्ने हाम्रो माग छ।
यसका लागि जोइन्ट फोरमले आगामी 4 अक्टोबरभित्रमा राज्यकी मुख्यमन्त्री र श्रम मन्त्रीलाई पत्राचार गर्नेछ। पछिल्लो आन्दोलन राजनीतिक आन्दोलन थियो। त्यो चियाश्रमिकले गरेको आन्दोलन थिएन। त्यसैले त्यो आन्दोलनको बहाना गरेर पहाड़का चियाश्रमिकले पाउनुपर्ने बोनसको दर घटाउनु पाइँदैन, उनले थपे, आन्दोनको मर्का पनि चियाश्रमिकलाई नै पऱ्यो। अन्य कर्मचारीहरूले 105 दिन बन्दअवधिको वेतन पाए, तर चियाश्रमिकहरूले पाएन्। हामीले धेरै ठाउँ पत्राचार गऱ्यौं, तर चियाश्रमिकलाई कुनै क्षतिपूर्ति राशि दिने काम भएन।
कतिपय चियाकमानका श्रमिकहरूले गेट मिटिङका लागि जोइन्ट फोरमलाई बोलाइरहेकोले ती चियाकमानमा आगामी 2,3 र 4 अक्टोबरको दिन गेट मिटिङ गर्ने पनि लामाले जानकारी गराएका छन्।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here