विमलपन्थी मोर्चाले चाँड़ै केन्द्रिय कमिटी पुनर्गठन गर्ने, 10 रुपियाँ गरी सदस्य शुल्क पनि सङ्ग्रह गर्ने

0
934

दार्जीलिङ, 2 जनवरीः  विमल गुरुङङपन्थी गोर्खा जनमुक्ति मोर्चाले अब पार्टी फण्डका लागि 10 रुपियाँको दरले सदस्यता शुल्क सङ्ग्रह गर्ने योजना बनाएको छ।

आज (शनिबार) पातलेबासस्थित पार्टी कार्यालयमा गोजमुमो केन्द्रिय समितिको एक सभाबीचै यस्तो निर्णय लिइएको पार्टी महासचिव रोशन गिरीले बताए।

यति मात्रै होइन, पार्टीले अब राष्ट्रियस्तरको कमिटी पनि गठन गर्ने योजना बनाएको छ भने पार्टीको केन्द्रिय समितिमा 51 सदस्य राख्ने निर्णय लिएको पनि उनले जानकारी गराए।

गिरीका अनुसार 2017-सम्म गोजमुमो केन्द्रिय समितिमा 108 सदस्य थिए, तर अब यस कमिटीमा केवल 51 जना मात्रै सदस्य राखिने तय भएको छ।

“ गोर्खा जनमुक्ति मोर्चा पार्टी विस्तारको क्रम जारी छ, चारैतिर पार्टी सदस्यहरू पुनः पार्टीमा फर्किरहेका छन्। यसरी नै पार्टीलाई अब देशका गोर्खाबहुल क्षेत्र वा राज्यहरूमा पनि विस्तार गर्ने योजना बनाइएको छ’’, उनले थपे, “यसैले पार्टीको राष्ट्रियस्तरको कमिटी पनि गठन गर्ने तय गरिएको छ भने यसबारे सबै राज्यका गोजमुमो कार्यकर्ताहरूलाई लिएर शीघ्रै एक बैठक गर्ने योजना पनि बनाइएको छ।’’

एक प्रश्‍नको उत्तरमा गिरीले भने, “हाल पार्टीको फण्ड छैन, यसैले पार्टी फण्डका लागि सदस्यता शुल्क 10 रुपियाँ गरी उठाउने निर्णय गरिएको छ। किनभने, पार्टीलाई सञ्चालन गर्नका लागि फण्डको आवश्यकता पर्छ अनि यो फण्डको एकमात्र स्रोत सदस्यता शुल्क हो।’’

यसैले अब पार्टीले प्रत्येक सदस्यबाट 10 रुपियाँ गरी सदस्यता शुल्क उठाउनेछ साथै नयाँ सदस्य बनाउने कार्य पनि थालिने उनले बताए।

यसका साथै गिरीले पार्टीको 51 सदस्यीय केन्द्रिय समितिमा युवा मोर्चा, नारी मोर्चा, श्रमिक सङ्गठनहरूबाट पनि 1-1 जना सदस्यलाई सामेल गरिने भएको बताए।

यसबाहेक कालेबुङ, सिलगढ़ी, डुवर्स आदि स्थानमा पनि पार्टीका प्रवक्ता बनाउने योजना तयार पारेको गिरीले बताए।

यसरी नै उनले आगामी 7 जनवरीको दिन कालेबुङमा एक जनसभा गरिने भएको बताउँदै अन्य स्थानहरूमा पनि लगातार पार्टीले सभा, जनसभाहरूको आयोजना गर्ने योजना रहेको बताए।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here