सिक्किममा कोभिड-19 भ्याक्सिनेशनको ड्राइ रन सम्पन्न

0
922

गान्तोक, 2 जनवरीः    देशका अन्य राज्यहरूमा जस्तै सिक्किममा पनि आज कोभिड-19 भ्याक्सिनेशनको ड्राइ रन सम्पन्न भयो।

हाल अर्बन पीएचसीको रूपमा सञ्चालन भइरहेको पुरानो एसटीएनएम अस्पताल ड्राइ रन आयोजन गरिएको हो।

उल्लेखनीय छ, ब्रिटेनको अक्सफोर्ड विश्वविद्यालय र त्यसै देशको एउटा फार्मा कम्पनी अस्ट्राजेनिका-ले तयार पारेको तथा भारतमा पुणेको सिरम इन्स्टिट्युटमा निर्माण भइरहेको कोभिड-19 भ्याक्सिन कोभिसिल्ड-लाई भारत सरकारले गठन गरेको सब्जेक्ट एक्सपर्ट कमिटीले हिजो मात्र देशमा प्रयोग गर्ने अनुमति दिएको छ।

यसरी अनुमति प्राप्त भएपछि आज देशका सबै राज्यमा ड्राइ रन आयोजन गरिएको हो।

स्मरणरहोस्, भारतमा कोभिड-19 भ्याक्सिनेशनको यो दोस्रो चरणको ड्राइ रन हो।

यसअघि देशका चारवटा राज्य असम, आन्ध्रप्रदेश, महाराष्ट्र र गुजरातमा प्रथम चरणको ड्राइ रन सफलतापूर्वक सम्पन्न भइसकेको छ।

सिक्किमा हाल लामो सरकारी विदा चलिरहेकोले केही असुविधा भए पनि एसटीएनएम अस्पतालका स्वास्थ्यकर्मीहरूले ड्राइ रन सफलतापूर्वक सम्पन्न गरे।

ड्राइ रन आयोजना गर्नुको उद्देश्य भोलिका दिनमा भ्याक्सिन आइपुगेपछि कसरी टीकाकरणको प्रक्रिया अघि बढ़ाउने भन्नेबारे अभ्यास गर्नु रहेको आरसीएच-का निर्देशक तथा स्टेट इम्युनाइजेशन अफिसर डा. फुम्जे डेञ्जोङ्पाले बताइन्।

कोभिड-19-को भ्याक्सिनेशन अन्य भ्याक्सिनेशनभन्दा भिन्न रहेको बताउँदै यस भ्याक्सिनेशनलाई व्यवस्थित ढङ्गमा सम्पन्न गर्न भारत सरकारले को-विन नाम गरेको मोबाइल एप तयार गरेको पनि उनले जानकारी गराइन्।

आजको ड्राइ रनमा उक्त एप सञ्चालनको अभ्यास गरिने डा. डेञ्जोङ्गपाले बताइन्।

ड्राइ रनको समय कुनै प्रकारको कमी कमजोरी देखा परेको खण्डमा भारत सरकारलाई यसको जानकारी गराइनुपर्ने हुन्छ।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here