खरसाङ, 3 जनवरीः केही दिनअघि गोर्खा जनमुक्ति मोर्चा पहिलो खेमाका प्रमुख विमल गुरुङले दिएको कथित् बयानविरुद्ध आज खरसाङमा पोस्टरिङ गरिएको छ।
खरसाङका जनता नाममा गरिएको उक्त पोस्टरमा भनिएको छ, ‘सुनखरी शहर (खरसाङ)-लाई शौचालय प्रयोग गर्ने स्थान हो भन्ने विमल गुरुङको मानसिकताप्रति घोर विरोध एवं खण्डन गर्दछौँ।‘
त्यस्तै अर्को पोस्टरमा भनिएको छ, ‘गोर्खाल्याण्ड आन्दोलनको नाम गरेर 2017 सम्म चौकीमा बस्दा जनहितको निम्ति कार्य गर्न विफल रहने व्यक्तिले खरसाङ शहरलाई शौचालय प्रयोग गर्ने स्थान भन्नु चाहिँ उसको आफ्नो मानसिकताको परिचय आफैले दिएको हो। यस्तो रोगी मानसिकता भएको व्यक्तिसँग पहाड़वासी सतर्क रहने आह्वान गर्दछौँ।’
यस्तै पोस्टरमा विमल गुरुङलाई अशिक्षित व्यक्ति भनिएको छ भने खरसाङका लागि के गऱ्यौ भनी प्रश्न पनि गरिएको छ। उल्लेखनीय छ, केही दिनअघि खरसाङका पार्टी कार्यकर्ताहरूसँगको भेटवार्ताको क्रममा विमल गुरुङले खरसाङ दार्जीलिङबाट सिलगढ़ी जाँदा र सिलगढ़ीबाट दार्जीलिङ आउँदा शौच गर्ने ठाउँजस्तै आफूले महसुस गरिरहेको भन्ने कथित बयान दिएका थिए। तर, गुरुङको उक्त बयान खरसाङको पर्यटन विकासमा बेवास्तासम्बन्धी थियो।