असामाजिक तत्त्वहरूद्वारा दमाई सांस्कृतिक एवं विकास बोर्डका अध्यक्षको गाड़ी जलाइयो

0
926

दार्जीलिङ, 3 जनवरीः पश्चिम बङ्गाल दमाई सांस्कृतिक एवं विकास बोर्डका अध्यक्ष गङ्गासागर पञ्चकोटीको गाड़ी बदमताम चियाबगानको बच्चाबारीमा असामाजिक तत्त्वहरूहरूले आगो लगाएर जलाइदिए।

कालेबुङनिवासी पञ्चकोटी हिजो साँझपख आफन्तको मरौमा बदमताम गएका थिए, जहाँ उनले आफ्नो गाड़ी पार्क गरेर मरौ घर गएका थिए। किनभने, गाड़ी पार्क गरेर राख्ने स्थानदेखि मरौ घर केही माथि थियो, जहाँ पैदल जानुपर्ने अवस्था थियो।

त्यसैले उनले सड़क किनारमा नै आफ्नो गाड़ी पार्क गरेर मरौ घर गएका थिए। तर, मरौ घरबाट फर्किएको समय उनले आफ्नो गाड़ी जलिरहेको अवस्थामा भेटाए।

उनले आफ्नो गाड़ीमा पेट्रोल छर्किएर आगो लगाइएको पनि बताएका छन्। यद्यपि आफ्नो गाड़ीमा कसले, किन अनि के कारणले आगो लगाए, त्यसबारे आफू अनभिज्ञ रहेको पनि पञ्चकोटीले बताए। आगोको चपेटमा परेर उनको गाड़ी भष्म बनेको छ।

“बदमताममा म समय-समयमा मात्रै आउने गरेको छु। समुदायको कुनै कार्यक्रमहरू हुँदा, नत्र यस्तै दुःख अनि सुखका कार्यक्रमहरू हुँदा मात्रै म यहाँ आउने गर्छु। यस्तै क्रममा आजभन्दा 2 वर्षअघि म यहाँ आएको थिएँ’’, उनले थपे, “यहाँ मेरो कसैसित कुनै मनमुटाउ वा मतभेद छैन। तरै पनि मेरो गाड़ीमा के कारणले आगो लगाइयो, यसबारे मलाई केही थाहै छैन।’’

यसबारे पुलिसलाई जानकारी गराएको अनि पुलिसले पनि घटनास्थलमा आएर जाँच शुरू गरेको पनि गङ्गासागर पञ्चकोटीले बताएका छन्।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here