कालेबुङ, 4 जनवरीः कालेबुङ मेला ग्राउन्डमा हिजो राति भएको घटनामा ज्यान गुमाउने दुई महिलाका परिवारलाई सम्मानजनक आर्थिक क्षतिपूर्ति र घाइतेहरूको सम्पूर्ण उपचार खर्च सरकारद्वारा प्रबन्ध गरिनुपर्ने आग्रह गर्दै दार्जीलिङ सांसद राजु बिष्टले राज्यकी मुख्यमन्त्री ममता ब्यानर्जीलाई पत्राचार गरेका छन्।
आज एक प्रेस विज्ञप्ति जारी गरी उनले यसबारे जानकारी गराएका छन्।
साथै बिष्टले मेला ग्राउण्डमा चन्द्रलोकनिवासी अनिता छेत्री र बनिता गुरुङको दुर्भाग्यपूर्ण मृत्युले आफू मर्माहित बनेको बताउँदै प्रशासनिक लापरबाहीकै कारण उनीहरूले ज्यान गुमाएको आरोप लगाएका छन्।
“कोभिड महा महामारीको यस अवधिमा पश्चिम बङ्गाल सरकारले सुरक्षा मापदण्डको उचित प्रबन्ध नगरी कसरी यस्ता सामूहिक भीड़भाड़का कार्यक्रमहरूलाई अनुमति दिइरहेको छ म यसप्रति अचम्भित छु’’, उनले थप भनेका छन्, “सुन्नमा आए अनुसार उक्त भागदौड़मा एक जनाको मृत्यु भइसकेको जानकारी प्रशासन र कार्यक्रम आयोजकलाई भइसक्दा पनि उक्त कार्यक्रम निरन्तर गरियो, यदि यस्तै भएको हो भने यो अतिनै अमानवीय अनि निन्दनीय हो।’’
उनले थप भनेका छन्, “भागदौड़को चपेटमा पर्ने एकजनाले अन्तर्वार्तामा पुलिसद्वारा लाठीचार्ज गरिएको थियो भन्ने पनि सुनियो। लाठीचार्ज कै कारण भागदौड़ मच्चिएको त होइन? उक्त विषयको पनि निष्पक्ष जाँच हुनुपर्छ।’’
अर्कोतिर राजु बिष्टले आपदा प्रबन्धन कानून 2005 अन्तर्गत् सुरक्षा प्रबन्धन साथै सामाजिक दूरीजस्ता मापदण्डहरूका उचित व्यवस्थापन नगरी कार्यक्रमको अनुमति दिने प्रशासनिक अधिकारीहरू यस घटनाका लागि जिम्मेवारी रहेको बताएका छन्।
“लाठीचार्ज गर्ने आदेश कसले दिइयो, त्यसको पनि जाँच हुनुपर्छ’’, उनले थप भनेका छन्, “मलाई लाग्छ, यदि प्रशासनले सुरक्षा मापदण्डका सम्पूर्ण व्यवस्थापन ठीकसँगले गरेको भए उक्त भागदौड़को घटनालाई रोक्न सकिने थियो।”