10 जनवरीमा शिक्षकहरूले दार्जीलिङमा शान्ति ऱ्याली निकाल्ने

0
1058

दार्जीलिङ, 5 जनवरीः आउँदो 10 जनवरीका दिन दार्जीलिङ पहाड़का शिक्षकहरू सड़कमा ओर्लिने भएका छन्।

उनीहरूले स्थानीय रेलवे स्टेशन परिसरदेखि शान्ति ऱ्याली निकालेर चोकबजारमा एक जनसभा गर्ने पनि अठोट गरेका छन्।

आज यसै विषयमाथि चर्चा गर्न दार्जीलिङ पहाड़का विभिन्न शिक्षक सङ्गठनको एक सभा स्थानीय गोर्खा दुःख निवारक सम्मेलन भवनमा भएको थियो।

सभापछि पत्रकारहरूसित कुराकानी गर्दै संयुक्त माध्यमिक शिक्षक सङ्गठनका अध्यक्ष अनिल शर्माले भने, “शान्ति, समृद्धि, शिक्षा नै हतियार, नयाँ सोच, नयाँ विचार, पहाड़को हितमा शिक्षकहरू सड़कमा जस्ता नाराहरू लिएर नै शिक्षकहरू आउँदो 10 जनवरीका दिन सड़कमा ओर्लिनेछन्।’’

वर्तमान समयमा दार्जीलिङ पहाड़को राजनैतिक स्थिति अन्योलपूर्ण बनिरहेकाले यस्तो अवस्थामा दार्जीलिङ पहाड़का आम जनतालाई सही दिशानिर्देश गर्ने दायित्व बौद्धिक जमातमाथि आइपरेको उनको भनाइ छ।

“जनतामा अन्योलमा छन्, को सही-को गलत खुट्याउनै सकेका छैनन्। राजनीति मन नपराउने मानिसहरूले यो नेता ठीक-त्यो नेता गलत भनिरहेका छन्। फलाना राम्रो-फलाना नराम्रो भनिरहेका छन्’’, शर्माले थपे, “यसैले आम जनतालाई सही कुरा बुझाउने, दार्जीलिङ पहाड़लाई अधोगतिबाट बचाउनका लागि नै 10 जनवरीका दिन पहाड़का शिक्षकहरू सड़कमा ओर्लिने भएका हुन्। ताकि दार्जीलिङ पहाड़को शैक्षिक व्यवस्थासँगै राजनैतिक विसङ्गतिहरूबाट पनि पहाड़लाई पहाड़लाई बचाउन सकौं।’’

उनका अनुसार आजको सभामा शिक्षकहरूमाझ यस्तै विषयहरूमाथि व्यापक चर्चा-परिचर्चा गर्नका साथै 10 जनवरीका दिन दार्जीलिङमा शान्ति ऱ्याली निकालेर शैक्षिक सभाको आयोजना गर्ने निर्णय गरियो।

शर्माले थपे, “दार्जीलिङ पहाड़को राजनैतिक अस्थिरताको कारण नै पहाड़का विद्यार्थीहरूको शिक्षा पनि नराम्रोघतले प्रभावित बनिरहेको छ।’’

यस विषयमाथि पनि आम जनताको ध्यान आकर्षण गर्ने पहाड़का शिक्षकहरूले सङ्कल्प गरेको उनले बताए।

आज सम्पन्न गरिएको सभामा संयुक्त माध्यमिक शिक्षक सङ्गठन, हिल तराई प्राथमिक शिक्षक संगठन, एमएसके, एसएसके, जीटीए हेड मास्टर एसोसिएशनका प्रतिनिधिहरूको विशेष उपस्थिति रहेको पनि अनिल शर्माले जानकारी गराए।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here