कालेबुङ, 7 जनवरीः विनय तामाङपन्थी गोजमुमोको पार्टी कार्यालय तोड़फोड़काण्डमा विमल गुरुङपन्थी गोजमुमोले प्रतिक्रिया व्यक्त गर्दै तोड़फोड़को काण्ड विनयपन्थी मोर्चाले नै गरेको दावी गरेको छ।
विमलपन्थी मोर्चा कालेबुङका संयोजक शुभ प्रधानले भने, “यो विमल गुरुङपन्थीलाई कुनै न कुनै प्रशासनिक या कानुनी दबाउमा राख्नका लागि उनीहरू (विनयपन्थी मोर्चा)-ले रचेको एउटा सानो नाटक हो।”
उनले थपे, “विमल गुरुङ पहाड़ आए, अशान्ति हुन्छ भनेर यहाँ मौन जुलूससम्म भएको हो। र अहिले आफै झाक्री, आफै बोक्सी हुने यस्तो घटना कुनै नयाँ पनि होइन।’’
प्रधानले विनयपन्थी मोर्चाको पार्टी कार्यालयको तोड़फोड़ जाँचको विषय रहेको पनि बताए।
पुलिसले जाँच गरेपछि नै को सही/को गलत पत्तो लाग्ने उनको भनाइ छ।
उल्लेखनीय छ, विनयपन्थी मोर्चाले पार्टी कार्यालय तोड़फोड़को आरोप विमलपन्थी मोर्चामाथि लगाएको छ। साथै यस्ता कार्यले यदि हिंसा भड़्किए यसको जिम्मेवार विमल गुरुङ हुने बताइसकेको छ।
विनयपन्थी मोर्चाको यस्तो आरोपलाई विमलपन्थी मोर्चाले सोझौ खण्डन गरेको छ।
विमलपन्थी मोर्चालाई फँसाउनका लागि विनयपन्थी मोर्चाले आफ्नै कार्यालय तोड़फोड़ गरेको उल्टो आरोप शुभ प्रधानले लगाएका छन्।
उनले विमलपन्थी हिंसामा विश्वास नराख्ने पनि बताएका छन्।