कालेबुङ, 7 जनवरीः गोर्खाहरूलाई सपना देखाएर भारतीय जनता पार्टीले ठूलो धोका दिएको आज पनि गुरुङले दोहोऱ्याए। साथै भाजपाको अवस्था पनि माकपाकै जस्तो हुने बताए।
आज कालेबुङको मेलाग्राउन्डमा सम्पन्न जनसभालाई सम्बोधन गर्दै उनले भाजपाले सपना देखाएकै कारण दार्जीलिङ पहाड़बाट तीनपटक भाजपाका उम्मेद्वारलाई जिताएर सांसद बनाएको तर भाजपाले दार्जीलिङका लागि अहिलेसम्म एउटा काँटीसमेत नठोकेको पनि बताए।
गुरुङका अनुसार भाजपाको नियत भनेको आफ्नै घटकहरूलाई धोका दिनु हो। भाजपाले गोर्खा जनमुक्ति मोर्चालाई मात्रै होइन, तर सबै घटकलाई दललाई नै धोका दिने कार्य गरेको छ। भाजपाले दिने भनेको आश्वासन मात्र हो।
उनले भाजपालाई मीठो जवाफ दिनका लागि नै गोली ठोक्ने मान्छे (ममता)-सँग आफू मिलेको पनि बताए।
“चाहे मेरो ज्यानै जाओस् तर अबउप्रान्त म भाजपालाई स्वीकार गरेको हुँदिनँ”, विमलले थपे, “भाजपाले मलाई धोका दिएको होइन, जातिलाई धोका दिएको हो।”
अर्कोतिर, उनले विनय-अनितले कालेबुङका लागि केही नगरेको पनि बताए। गुरुङले दुवैको नाम भने काड़ेनन्। उनका अनुसार पछिल्लो तीन वर्षको अवधिमा कालेबुङमा कसैले एउटा ढुङ्गासमेत सार्ने काम गरेनन्। कालेबुङ आज जस्तोको त्यस्तै छ। कालेबुङको पर्यटनलाई लिएर कसैले सोचेको छैन।
विमलले आफ्नो सम्बोधनअवधि कालेबुङ गर्ल्स स्कूलको बिल्डिङको पनि मुद्दा झिके। साथै दुई-चारजना व्यक्तिको स्वार्थपूर्तिका लागि त्यहाँ ठूलो सपिङ मल बनिरहेको आरोप लगाए।
“हामीले डेलोदेखि यहाँ टाउनसम्म रोपवे गरेका थियौँ, त्यहाँदेखि हामीले रेलीपालामा रोपवे गरेका छौँ। हामी त्यो रोपवे कहाँसम्म पुग्यो? डल्लै फण्ड सेन्शन भएर बसेका कुराहरू आज किन पूरा भएनन्?”, उनले थपे, “यो मेलाग्राउन्डलाई पहिलो चरणमा 50 करोड़ मैले दिएको थिएँ, तर ग्राउन्ड बनिनु सकेन। कहाँ गयो भन्नुस् त। मैले यहाँ माथि ठूलो अडिटोरियम बनाएको थिएँ। त्यो अडिटोरियम कालेबुङका सम्पूर्ण समुदायका लागि थियो। त्यो अडिटोरियमको हालत हेर्नुस्। तहसनहस छ। एउटा ढुङ्गा पनि उठाएन।”
विमलले थपे, “खाली ठूल्ठूला कुरा गर्छन्। दैनिक तपाईंहरूले पेपरमा हेर्नुहुँदैछ, नरिवल फुटेको फुटेको छ। कहाँ फुटेको फुटेको नरिवल; म त भन्छु अब चाहिँ नरिवल फुटेको होइन, आफ्नो भाग्य फुटेको हो। ठोस काम गर। हाम्रा छोरा-छोरीका लागि काम गर।’’ अब यो क्षेत्रमा उन्नति के हो भन्ने आफूले देखाउने तथा पहाड़का छोरा-छोरीका लागि सोच्ने पनि विमलले ठोकुवा गरे।
यसैगरी उनले सेवक-रम्फू रेल परियोजनाले हाइवेवासी अत्यधिक प्रभावित गर्दा पनि प्रभावित परिवारहरूको पुनर्वास र क्षतिपूर्तिका लागि कसै पनि नबोलेको आरोप पनि लगाए।