दार्जीलिङ, 8 जनवरीः केही दिनअघि विनय तामाङपन्थी गोजमुमोबाट राजीनामा दिएका सुचिन राई राजीनामा फिर्ता लिएर पुनः विनयपन्थी मोर्चामै फर्किएका छन्।
विनयपन्थी मोर्चाका केन्द्रिय प्रवक्ता केशवराज पोख्रेलका अनुसार केन्द्रिय सदस्य सुचिन राईले व्यक्तिगत समस्याहरूका कारण राजीनामा दिएका थिए भने आज पार्टी महासचिव अनित थापासँग भेटवार्ता गरेपछि राजीनामा फिर्ता लिएर पुनः पार्टीमा फर्केका हुन्।
साथै राईले अबउसो पार्टीको नयाँ सोच र नयाँ विचारलाई अङ्गीकार गरी जनहितमा थप उत्साह र जोश-जाँगरसहित अघि बढ़्ने प्रतिबद्धता पनि जाहेर गरेको पोख्रेलले बताएका छन्।
‘सुचिन राई गोजमुमोको स्थापनाकालदेखि नै प्रतिबद्धताको साथमा पार्टीको योगदान दिँदै आइरहेका व्यक्ति हुन्। पार्टीप्रतिको उनको योगदान धेरै रहेको छ। यसैले उनले आफ्ना व्यक्तिगत समस्याहरू पन्साएर पुनः पार्टीलाई योगदान दिने विचार लिएर फर्किनुभएकोमा हामी धेरै खुशी छौँ’, केशवराज पोख्रेलले भनेका छन्, ‘जनताको पार्टी गोर्खा जनमुक्ति मोर्चाको परिवारमा हामी उहाँलाई सम्मानसाथ स्वागत गर्दछौँ। अब फेरि एकार्कामा हातेमलो गरेर नयाँ सोच र नयाँ विचारलाई लिएर हामी जनताको हितमा साथमा काम गर्नेछौँ भनी सबैलाई आश्वस्त पनि गराउन चाहन्छौँ।‘