दार्जीलिङ, 8 जनवरीः पर्जा-पट्टाको मागमा आज रोहिणीका जनता दार्जीलिङको सड़कमा देखापरे।
अब अझै पनि यस स्थानका मानिसहरूको जमिनको मालिकाना अधिकार उनीहरूको नाममा प्रदान नगरिए उनीहरूले रोहिणीको सड़कमा नै आफ्नो अधिकारका लागि विक्षोभ प्रदर्शन गर्ने चेताउनी दिएका छन्।
विशेष गरी खरसाङ महकुमाअन्तर्गत् रोहिणीका जनताले आफूहरू बस्दै आएको जमिनको मालिकाना अधिकार वा पर्जा-पट्टाका लागि विगत धेरै समयदेखि आवाज चर्काउँदै आइरहेका छन्। तर यसमाथि प्रशासनले अझैसम्म पनि मौनता अप्नाइरहेको छ।
यसैले आज दार्जीलिङ जिल्ला प्रशासनको ध्यान यस स्थानका जनताको समस्यामाथि आकर्षित गर्ने उद्देश्यले नै रोहिणीका जनताको पक्षमा रोहिणी ल्याण्ड राइट मञ्चको नेतृत्वमा दार्जीलिङको रेलवे स्टेशनदेखि जिल्लापाल कार्यालयसम्म एक जुलूस निकालियो।
जुलूसमा सहभागी मानिसहरूले रोहिणीका जनतालाई उनीहरू वर्षौंदेखि बस्दै आएको जमीनको मालिकाना अधिकार दिने माग चर्काएका थिए।
यसै विषय लिएर मञ्चका अध्यक्ष सचिन खातीले भने, “रोहिणीका जनता आफ्नो जमीनको मालिकाना अधिकारका लागि आज सड़कमा ओर्लिने बाध्य बनेका छन्। यस विषय लिएर रोहिणी ल्याण्ड राइट मञ्चले जीटीए अध्यक्ष, दार्जीलिङका जिल्लापाल आदिसित भेट गरिसकेको छ। उनीहरूबाट केवल आश्वासन मात्रै पाइएको छ। तर, अब रोहिणीका जनता आफ्नो अधिकारका लागि सड़कमा ओर्लिएका छन्।’’
उनले थपे, “दार्जीलिङ पहाड़का विभिन्न स्थानले विभिन्न स्थानका मानिसहरूलाई संस्कृति सिकाउँछ, शिक्षा, सङ्गीत सिकाउँछ, तर अब रोहिणीले जनतालाई आफ्नो अधिकारका लागि लड़ाईं गर्न सिकाउनेछ।’’
एक प्रश्नको उत्तरमा खातीले भने, “रोहिणीको खास अवस्था के हो, यसको विस्तृत विवरण जिल्लापालसित छ। यस स्थानको लगभग 700 ऐकर जमिनमा आम मानिसहरू वर्षौंदेखि बस्दै आएका छन्। उनीहरूले जङ्गल फाँड़ेर अदुवा बारी बनाए, धान रोपे, तरै पनि आजसम्म यस जमिनको मालिकाना अधिकार उनीहरूलाई प्रदान गरिएको छैन।”
उनले रोहिणीमा 1,054 परिवार, 5 हजार मतदाता अनि 10 हजार जनसङ्ख्या रहेको पनि बताए।
सचिन खातीले थपे, “रोहिणीका यी जनताले पूर्ण गणतान्त्रिक रूपले आफ्नो अधिकारको माग गर्नेछन्। यसैले आज यो जुलूसको माध्यमबाट सरकार तथा जिल्ला प्रशासनको ध्यान आकर्षण गर्न चाहेका हौं।”
उनले रोहिणीका सम्पूर्ण जनताले आ-आफ्नो नाममा पर्जा-पट्टाका लागि जिल्लापाल कार्यालयमा आवेदन दिने योजना बनाएको पनि जानकारी गराए।
उनका अनुसार रोहिणीका जनताले सड़कबाटै आफ्नो अधिकारका लागि सरकारमाथि चाप दिने योजना बनाएका छन् र आगामी दिनमा दार्जीलिङको सट्टा रोहिणीमा नै सड़कबीचमा यसप्रकारको विक्षोभ प्रदर्शन गरिनेछ।
यसैले यस विषयमा सरकारले शीघ्र ठोस पहल गर्नुपर्ने पनि सचिन खातीले माग गरे।