दार्जीलिङ, 9 जनवरीः केन्द्रिय पर्यटन एवं संस्कृति मन्त्री प्रह्लाद सिंह पटेलले भाजपाले आफ्नो सङ्कल्प-पत्रमा समावेश गरेको गोर्खाहरूका दुई मुद्दा फत्ते हुने दावी गरेका छन्।
आज दार्जीलिङको एक होटलमा पत्रकारहरूलाई सम्बोधन गर्दै मन्त्री पटेलले यस्तो दावी गरेका हुन्।
“हामीले घोषणा पत्रमा गोर्खाहरूका दुइवटा मुद्दालाई समावेश गरेका छौँ। हाम्रो घोषणा-पत्र हाम्रो सङ्कल्प हो। र त्यो पूरा हुनेछ”, उनले थपे, “यसैले गोर्खाहरूका मनमा कुनै द्विविधा हुनुहुँदैन। हाम्रो घोषणा-पत्रमाथि शङ्का गर्ने कुनै कारण नै छैन।”
पटेलले थप भने, “हामी हाम्रो म्यादअवधि सङ्कल्प-पत्रमा समावेश गरेका कुनै पनि मुद्दालाई खेरो जान दिँदैनौँ।’’
उनका अनुसार 2014 को लोकसभा चुनाउमा गरेका घोषणाहरू 2019 भित्र सबै पूरा भयो। त्यसैगरी 2019 को लोकसभा चुनाउमा गरेका घोषणाहरू पनि 2024 सम्म पूरा हुनेछ।
यद्यपि उनले गोर्खालाई दिएको वचन कहिले पूरा हुनेछ, त्यो किटान गरेर भने बताएन्। “आउँदा दिनमा के हुँदै जानेछ,, हेर्दै जानुहोला”, मन्त्री पटेलले यति मात्र भने।
अर्कोतिर उनले दार्जीलिङ पहाड़को पर्यटन विकासमा राज्य सरकाले ध्यान नदिएको र सधैँ उपेक्षा गरेको आरोप पनि लगाए।
साथै राज्य सरकारले जमिन उपलब्ध गराएको खण्डमा केन्द्र सरकारले यहाँको कला/संस्कृतिलाई पर्यटनको रूपमा विकास गर्ने दावी गरे।
अर्कोतिर उनले पर्जापट्टा तथा चियाकमान र चियाश्रमिकहरूको जर्जर अवस्थाको मुद्दामा राज्य सरकारको आलोचना गरे।
उल्लिखित मुद्दाहरूको समाधानका लागि राज्य सरकार गम्भीर नरहेको मन्त्री पटेलले आरोप लगाए। किनभने यी मुद्दाहरू राज्य सरकारकै अधिकार क्षेत्रभित्र रहेको उनको भनाइ छ। उल्लेखनीय छ, हिजो बेलुकी दार्जीलिङ आइपुगेका मन्त्री प्रह्लाद सिंह पटेलले आज पर्यटन हितधारक तथा कला/संस्कृतिसम्बन्धित व्यक्तिहरूसँग छुट्टा छुट्टै चर्चापरिचर्चा गरेको पनि बताइएको छ।