गान्तोक, 9 जनवरीः मैदानमा प्रतिपक्षी खेलाड़ीहरूलाई छक्याएर गोल छिराउन खप्पिस रियाले मृत्युलाई छक्याउन सकिनन्।
लामो समयसम्म ब्रेन ट्युमरसित जुझ्दै आएकी सिक्किमकी एक प्रतिभावान महिला फुटबलर रिया लेप्चाको हिजो 15 वर्षको कलिलो उमेरमा निधन भएको छ।
यस दुःखद समाचारले राज्यको फुटबल खेल जगत् स्तब्ध बनेको छ।
सानै उमेरमा सिनियर नेशनल खेलेकी रिया सिक्किम राज्यले अहिलेसम्म जन्माएका उत्कृष्ट महिला फुटबलरमध्ये एक हुन्।
पश्चिम सिक्किमको मानेबुङ-देन्ताम समष्टिअन्तर्गत् साङ्कु- रधुखाण्डु ब्लकमा 3 जनवरी 2004-मा जन्मेकी रिया लेप्चाले देशकै प्रतिष्ठित फुटबल टुर्नामेन्ट सुब्रतो कपमा दुइपल्ट सिक्किम राज्यको प्रतिनिधित्व गरेकी थिइन्।
यति मात्र होइन, उनले राष्ट्रियस्तरमा बिहार, गोवा, राजस्थान, उडिसा, जम्मू-कश्मीरसहित पूर्वोत्तरका विभिन्न राज्यमा आफ्नो प्रतिभाको छाप छोड़ेकी थिइन्।
ऊर्जा कप र आईटीबीपी टुर्नामेन्टसमेत खेलिसकेकी रिया लेप्चा वर्ष 2017-मा सिक्किमको उत्कृष्ट महिला फुटबलर चुनिएकी थिइन्।
सिक्किमलाई मात्र होइन, एकदिन भारत देशलाई नै प्रतिनिधित्व गर्ने सपना बोकेकी रिया लेप्चा केही वर्ष अघि बिमार भइन्।
डाक्टरले उनलाई ब्रेन ट्युमर भएको बताए। मैदानमा हार नमान्ने खेलाड़ी रीयाले जीवन-मृत्यको खेलमा पनि जुझारूपनको परिचय दिइन्।
गत वर्ष 28 अक्टोबरका दिन नयाँ दिल्लीमा उनको सफलतापूर्वक अपरेशन भयो। त्यसपछि नियमित रूपमा गान्तोकको मणिपाल सेन्ट्रल रेफरल अस्पतालमा उनको रिभ्यु भइरहेको थियो। तर, केही दिनदेखि उनको स्वास्थ्यमा द्रूत गतिमा ह्रास आउन थाल्यो।
यसैबीच हिजो अस्पतालका डक्टरहरूले रिया अब केवल 12 घण्टा जति मात्र बाँच्नेछन् भन्दै परिवारजनलाई घर लिएर जाने सुझाउ दिए। त्यसपछि घर लाँदै गर्दा बाटोमा नै उनले अन्तिम स्वास लिइन्।
अन्तर्राष्ट्रिय फुटबलर तथा सिक्किम फुटबल प्लेयर्स एसोसिएशनका अध्यक्ष निर्मल छेत्रीले रियाको निधनमा गहिरो शोक प्रकट गर्दै यो सिक्किमेली फुटबल जगतका लागि ठूलो क्षति बताएका छन्।
रियाजस्ता सानै उमेरमा सिनियर नेशनल खेल्ने प्रतिभावान् महिला खेलाड़ी सिक्किमले अब सायदै पाउने उनले बताए।
उल्लेखनीय छ, रियाको उपचारका लागि निर्मलको अगुवाइमा सिक्किम फुटबल प्लेयर्स एसोसिएशनका सदस्यहरूले सड़कमा निस्केर अर्थ सङ्ग्रह गरेका थिए।
त्यसरी नै अन्य केही सङ्घ संस्था र व्यक्तिविशेषले पनि यसरी नै सहयोग गरेका थिए।
उनको अन्तिम संस्कार भोलि गरिने भएको छ।
अर्कोतिर, प्रतिभाशाली फुटबलर रिया लेप्चाको निधनमा एसडीएफ पार्टीले शोक समवेदना व्यक्त गरेको छ।
पार्टीको विद्यार्थी मोर्चाका महासचिव टाशी ग्याछो भोटियाले शनिबार एउटा प्रेस विज्ञप्ति जारी गर्दै रिया एक असल फुटबल खेलाड़ी रहेको र उनको निधनले सिक्किमको खेलकुद जगतलाई ठूलो क्षति पुगेको बताएका छन्।
उदयीमान खेलाड़ी रिया लेप्चालाई राज्य तथा राष्ट्रले नै गुमाएको छ भन्दै एसडीएफले अध्यक्ष पवन चामलिङ तथा पार्टीको पक्षबाट शोकाकुल परिवारप्रति समवेदना प्रकट गरेको छ।