गान्तोक, 10 जनवरीः बढ्दो ट्राफिकलाई सुव्यवस्थित ढङ्गमा सञ्चालन गर्न राज्य सरकारले ट्राफिक पुलिसलाई 16 वटा नयाँ इनफिल्ड 350 मोटर बाइक प्रदान गरेको छ।
आज गान्तोकको एमजी मार्गमा सिक्किम पुलिसद्वारा आयोजित एउटा कार्यक्रमबीच फ्ल्याग अफ् गरी मुख्यमन्त्री पीएस गोलेले ती बाइकहरू आधिकारिक रूपमा ट्राफिक पुलिसलाई सुम्पिए।
ती 16 वटामध्ये 12 वटा पूर्व जिल्ला, 2 वटा दक्षिण जिल्ला र 1-1 वटा पश्चिम र उत्तर जिल्लाका लागि रहेको छ।
सिक्किम पुलिसका प्रवक्ता तथा डीआइजी (रेञ्ज) प्रवीण गुरुङले राज्यको ट्राफिक व्यवस्थालाई सुदृड़ गर्न ट्राफिक पुलिसलाई साइरन, पुलिस लाइट, वायरलेश उपकरण आदिले सुविधायुक्त स्मार्ट मोटर बाइक प्रदान गरिएकोमा मुख्यमन्त्री र राज्य सरकारप्रति आभार प्रकट गरे।
ट्राफिक व्यवस्थालाई सुदृड़ गर्न पुलिस विभागले अझ उत्साहित भएर काम गर्ने प्रतिबद्धता व्यक्त गर्दै उनले यसमा राज्यका चालकवर्ग र सर्वसाधरणले पनि पुलिसलाई सहयोग गर्नुपर्ने आह्वान गरे।
यसै अवसरमा ट्राफिक पुलिसको हेल्प लाइन नम्बर 8900295999 पनि सर्वसाधरणका लागि सार्वजनिक गरियो।
ट्राफिक सम्बन्धित कुनै पनि समस्या भएको खण्डमा यस नम्बरमा सम्पर्क गरे तत्काल आवश्यक पहल गरिने ट्राफिक पुलिसको कोशिश रहनेछ।
यो नम्बर सातै दिन चौबिसै घण्टा चालु रहने बताइएको छ।
आजै मुख्यमन्त्री गोलेले सिक्किम पुलिसको क्राइम ब्राञ्चद्वारा लागू पदार्थको दुर्व्यसन, बाल यौन दुर्व्यवहार र आत्महत्याको घटनामा रोक लगाउने उद्देश्यले तयार पारेको मोबाइल एप मिशन ज्योति-को पनि विधिवत् लोकार्पण गरे।
केही दिनभित्रमा यो एप प्ले-स्टोरमा उपलब्ध रहने बताइएको छ।
यसै अवसरमा क्राइम ब्राञ्चका एसपी कर्मा तेञ्जिङ लोडेनले धोकाधडीविरुद्ध सिक्किम पुलिसको अर्को महत्त्वाकाँक्षी पहल मिशन सफाइबारे पनि जानकारी गराए।