सिलगढ़ी, 4 फरवरी : आफ्नै किशोरी सालीसँग पटकपटक दुष्कर्म गरेको आरोप भेनामाथि लागेको छ भने आरोपी भेनालाई पुलिसले पक्राउ गरेको छ। यो घटना सिलगढ़ीको देशबन्धु पाड़ाको हो। घटना सम्बन्धमा पीड़ित सालीले शनिवार राति आफ्नो भेनाविरुद्ध लिखित उजुरी गरेपछि आइतवार आरोपी भेना सुशान्त राजवंशी नामक युवकलाई सिलगढ़ी महिला थानाको पुलिसले पक्राउ गरेको हो। आज आरोपी युवकलाई पुलिसले सिलगढ़ी अदालतमा उभ्याइएको थियो भने अदालतले आरोपीलाई न्यायिक पठाएको बताइएको छ।
प्राप्त जानकारीका अनुसार आरोपी सुशान्त राजवंशी मूलरूप फालाकाटको अरविन्दपल्ली निवासी हुन्। सिलगढ़ीको देशबन्धुपाड़ा निवासी एक युवतीसँग उनको विवाह लगभग दुई वर्षअघि भएको थियो। यो घटनाले सुशान्तकी पत्नी अवाक बनेकी छन्। आफ्नी बहिनी (साली)-सँग उनका पतिले यस्तो गर्छ भन्ने उनले कहिल्यै सोचेकी थिइनन्। न त यस्तो घृणित कार्यको कहिले शङ्का नै गरेकी थिइन्। उनले साली-भेनाबीच राम्रो सम्बन्ध रहेको बताइन्।
“पीड़िताकी दिदी एवं आरोपी सुशान्त राजवंशीकी पत्नीका अनुसार उनी लगभग दुई महिना अघि माइता आएकी थिइन्। उनलाई भेट्न उनका पति बेलाबखत आउने गर्थे।
“मेरी बहिनीसँग दुष्कर्म गरेको घटनाबारे मलाई यसभन्दा अघि थाहा थिएन”, सुशान्तकी पत्नीले भनिन्।
उजुरीमा पीड़िता किशोरीले आफ्नै भेनामा उनीसँग धेरैपटक दुष्कर्म गरेको बताएकी छन्। पीड़िताको यसै उजुरीमा आरोपीलाई सिलगढ़ी महिला थानाको पुलिसले सिलगढ़ी जङ्क्शनबाट पक्राउ गरेको बताइएको छ।