विधानसभा चुनाउको घोषणाअघि नै केन्द्रले 11 जातगोष्ठीलाई जनजातिको मान्यता दिनुपर्छः विनीता रोका

0
978

दार्जीलिङ, 13 जनवरी: बङ्गाल विधानसभा चुनाउको घोषणा हुनअघि नै भाजपा नेतृत्वावधीन केन्द्र सरकारले छुटेका 11 जातगोष्ठीलाई जनजातिको मर्यादा दिनुपर्ने विमल गुरुङपन्थी नारी मोर्चाले माग गरेको छ।

आज दार्जीलिङको मोटर स्ट्याण्डमा गोर्खा जनमुक्ति नारी मोर्चाद्वारा आयोजित एक जनसभालाई सम्बोधन गर्दै पार्टी प्रवक्ता विनीता रोकाले भनिन्, “भाजपाले 2019-को लोकसभा चुनाउअघि आफ्नो चुनावी घोषणा पत्रमा गोर्खा जातिका 11 जातगोष्ठीलाई जनजातिको मर्यादा दिने कुरा उल्लेख गरेको थियो। यसलाई भाजपा सरकारले बङ्गाल विधानसभा चुनाउको घोषणा हुनअघि नै पार लाउनुपर्छ। किनभने, यसै माग र मुद्दाका कारण पनि भाजपाका उम्मेद्वार राजु विष्टले 2019-को चुनाउमा ऐतिहासिक जीत हासिल गरेका थिए।’’

उनले थपिन्, “यस विषय लिएर प्रधानमन्त्री नरेन्द्र मोदीले पनि 11 जातगोष्ठीको नाम लिँदै यसमाथि केन्द्र सरकारले ठोस पहल गरिरहेको बताएका थिए। तर, आज यतिका समय बितिसक्दा पनि केन्द्र सरकारले 11 जातगोष्ठीलाई जनजातिको मर्यादा दिने काम गरेको छैन।’’

यसैबीच, विनीता रोकाले भाजपाले दार्जीलिङ पहाड़का जनतालाई विगत धेरै वर्षदेखि झुक्याइरहेको आरोप लगाउँदै अब जनता भाजपाको बहकाउमा आउन नहुने पनि आह्वान गरिन्।

उनले भनिन्, “2019-को लोकसभा चुनाउअघि पनि भाजपाले दार्जीलिङ पहाड़, तराईतिर टुरिस्ट मन्त्रीहरू ल्याउने काम गरेको थियो, अब फेरि बङ्गाल विधानसभा चुनाउअघि पनि भाजपाले यस्तो क्रम शुरू गरिसकेको छ। यसै क्रममा गत केही दिनअघि मात्रै दार्जीलिङका सांसद राजु विष्टले केन्द्रिय राज्यमन्त्री प्रल्हाद सिंह पटेललाई टुरिस्ट मन्त्री बनाएर दार्जीलिङमा ल्याएका थिए। विगतको चुनाउअघि वर्तमान वित्तमन्त्री निर्मला सीतारमणलाई एक टुरिस्ट मन्त्री बनाएर ल्याइएको थियो। जसले चियाश्रमिकहरूका लागि मिनिमम वेजेस एक्ट लागू गर्ने वचन दिएकी थिइन्, तर चुनाउ सकियो-सरकारमा फेरि भाजपा नै आयो। तर गोर्खा जाति, चियाश्रमिकहरूलाई दिइएको वचन एक इञ्च पनि अघि बढ्न सकेन।’’

उनका अनुसार 2017-को आन्दोलनमा दार्जीलिङ पहाड़मा 13 जना शहीद बने, तर त्यस समय भाजपाका एकजना नेता पनि दार्जीलिङ पहाड़ आएनन्, दार्जीलिङका तत्कालीन सांसद एसएस आहलुवालिया 1 घण्टाको लागि पनि दार्जीलिङ आएनन्।

“तर, चुनाउ आउनअघि भाजपा नेताहरूको आगमन शुरू भइसकेको छ। अब फेरि दार्जीलिङ पहाड़मा भाजपा नेताहरूले गोर्खाल्याण्डको कुरा गरेर जनतालाई लट्याउन सक्छ’’, विनीता रोकाले थपिन्, “यसैले बगाल विधानसभा चुनाउमा भाजपाले गोर्खाल्याण्डको कुरा गरेर भोट मागे, त्यसलाई जनताले सरासर ढाँटेको हो भन्ने बुझ्नुपर्छ। किनभने, बङ्गाल विधानसभा चुनाउसित गोर्खाल्याण्डको कुनै सम्बन्ध नै छैन।’’

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here