घूम-बिजनबारी सड़क मरम्मतीका लागि जीटीएले 5 करोड़ दिने, अनशन जारी नै

0
1352

दार्जीलिङ, 14 जनवरीः घूमदेखि बिजनबारीसम्मको जीर्ण अवस्थामा पुगेको सड़क मार्गको मरम्मतीका लागि जीटीएले 5 करोड़ रुपियाँ दिने घोषणा गऱ्यो, जुन राशिबाट जहाँ सड़क बनाइहाल्नुपर्ने अवस्था छ, त्यहाँ बनाउने जीटीए अध्यक्ष बीओएका अनित थापाले बताए।

यसका साथै उनले यसै सड़क मरम्मतीका लागि अनशनमा बसिरहेका अनशनकारीहरूलाई आफ्नो अनशन हटाइदिने पनि अपील गरेका छन्।
दार्जीलिङदेखि घूम भएर बिजनबारी जाने सड़क मार्गको अवस्था जीर्ण बनिसकेको छ, जहाँ हाल ठूला मालवाहक गाड़ी वा ट्रकका साथै साना गाड़ीहरू पनि चल्नसक्ने अवस्था छैन।

यसै विषयलाई केन्द्र गरेर बिजनबारी भेकका ट्रक चालक सङ्गठन साथै अन्य गाड़ी चालक सङ्गठनहरूले यस भेकका गाड़ीहरू चलाउन बन्द गरेका छन् अनि हिजोदेखि बिजनबारी बजारमा ट्रक चालकहरूले अनशन पनि शुरू गरेका छन्।
यसै विषय लिएर आज बिजनबारी भेकका विभिन्न गाड़ी चालक सङ्गठनले जीटीए बीओएका अध्यक्ष अनित थापासित एक बैठक गरे।

बैठकपछि पत्रकारहरूसित कुराकानी गर्दै गाड़ी चालक सङ्गठनका देवाशिष गुरुङले भने, “घूमदेखि बिजनबारीसम्मको सड़क मार्ग मरम्मतीका लागि 2018-मा नै टेन्डर जारी भएको थियो, तरै पनि यसको मरम्मतीको काम अहिलेसम्म पनि भएको छैन। जसका कारण यो सड़कको अवस्था बेहाल बनिसकेको छ।”

यसैले यो सड़क मार्गलाई शीघ्र मरम्मती गर्नुपर्छ भन्ने माग लिएर नै यस भेकका गाड़ीहरू गत केही दिनदेखि बन्द राखिएको छ।

यसका साथै उनीहरूले यो सड़क पीडब्ल्यूडी विभागको हातमा सुम्पिने पनि माग गरिरहेका छन्। ताकि यस सड़कको उचित मरम्मती भइरहोस् अनि यसप्रकारको समस्या क्षेत्रवासी जनताले भोग्न नपरोस्।
यसैबीच, उनले थप भने, “जीटीएले यस सड़क मार्गको मरम्मतीका लागि आधिकारिकरूपमा पत्र नदिएसम्म बिजनबारीमा चलिरहेको अनशन यथावत रहनेछ।

यसरीनै बिजनबारी भेकका ट्रक चालकहरूले भने-अहिले बिजनबारीमा ट्रक चालकहरू नै अनशनमा बसिरहेका छन्। यस अनशनमाथि प्रशासनले शीघ्र उचित ध्यान नदिए यो अनशनलाई राष्ट्रिय राजमार्ग 55-मा सारिनेछ।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here