गान्तोक, 16 जनवरीः देशका अन्य भागहरूसँगै आजदेखि सिक्किममा पनि कोभिड 19-को टीकाकरण अभियान आरम्भ भएको छ।
सोचेग्याङस्थित न्यू एसटीएनएमको आयुष अस्पताल भवनमा स्थापित टीकाकरण कक्षमा आज मुख्यमन्त्री पीएस गोलेले कोभिड 19 टीकाकरण अभियानको विधिवत उद्घाटन गरे।
यसअघि मुख्यमन्त्रीले त्यसै कक्षमा स्वास्थ्य मन्त्री डा. एमके शर्मा अनि विभागका उच्च अधिकारीको साथमा प्रधानमन्त्री नरेन्द्र मोदीद्वारा गरिएको देशव्यापी कोविड 19 टीकाकरण अभियानको अनलाइन लन्चिङ कार्यक्रममा सहभागिता जनाए।
सिक्किममा अहिलेलाई दुइवटा अस्पताल गान्तोकको एसटीएनएम र गेजिङ जिल्ला अस्पतालमा कोभिड 19 टीकाकरण अभियान चलाइनेछ।
आज एसटीएनएम अस्पतालमा राज्यको पहिलो कोभिड 19-को खोप डा. सुरेश मदन रसाइलीलाई लगाइयो, जो एसटीएनएम अस्पतालका डाइरेक्टर क्लिनिकल र एचओडी मेडिसिन साथै मोडल ट्रिटमेन्ट सेन्टरका कोभिड 19 प्रभारी पनि हुन्।
आज दिनभरिमा एसटीएनएम-मा 90 जना अनि गेजिङ जिल्ला अस्पतालमा 30 जना स्वास्थ्यकर्मीलाई कोभिड 19-को खोप लगाइयो।
उल्लेखनीय छ, सिक्किमलगायत देशभरि नै प्रथम चरणमा स्वास्थ्यकर्मीहरूलाई कोभिड 19 को खोप लगाइनेछ।
सिक्किम राज्यबाट भारत सरकारको को-भिन एपमा कुल 10,515 जना स्वास्थ्यकर्मीको नाम पञ्जीकरण गरिएको छ।
यसरी नै दोस्रो चरणमा फ्रण्टलाइन वर्कर्सलाई खोप लगाइनेछ जसको पञ्जीकरण हाल चलिरहेको छ।
टीकाकरण अभियानको विधिवत उद्घाटनपछि पत्रकारहरूसित कुराकानी गर्दै मुख्यमन्त्री पीएस गोलेले आजदेखि देशव्यापी रूपमा कोभिड 19 टीकाकरण अभियान आरम्भ भएकोमा सिक्किम साथै देशवासीप्रति शुभकामना व्यक्त गरे।
आजदेखि शुरू भएको यो टीकाकरण अभियान आत्मनिर्भर भारतको एउटा उदाहरण पनि रहेको कारण देशमै निर्मित दुइवटा भ्याक्सिनलाई पनि अनुमोदन प्राप्त भएको उनले बताए।
अरू देशको तुलनामा भारतमा बनेको भ्याक्सिनको मूल्य पनि कम्ती रहेको उनले थप बताए।
पत्रकारहरूले सोधेको एउटा प्रश्नको जवाबमा पहिले स्वास्थ्यकर्मी, फ्रन्टलाइन वर्कर्स र 50 वर्षभन्दा अधिक उमेरकाहरू पछि मात्र आफूलगायत मन्त्री, विधायकहरूको पालो आउने मुख्यमन्त्री गोलेले बताए। यहाँसम्म कि तेस्रो चरणमा 50 वर्षभन्दा माथिकाहरूलाई भ्याक्सिन लगाउँदा पनि 50 वर्ष नपुगेका मन्त्री, विधायकले भ्याक्सिन नलगाउने उनले थप बताए।