दार्जीलिङ, 20 जनवरीः राज्य सरकारले 10 वर्षमा गरेको विकास कार्यको लेखाजोखा गर्नका साथै जनताको गुनासो सुन्न भर्खरै तृणमूल कङ्ग्रेसले दार्जीलिङ पहाड़मा जनसम्पर्क यात्रा गरेको थियो।
राज्यका अन्य स्थानहरूमा जस्तै दार्जीलिङ पहाड़मा पनि 20 दिने जनसम्पर्क यात्रा गरिएको थियो, जसमा जनताले धेरैवटा समस्या अघि राखेको र ती समस्याहरूलाई सरकारले चरणबद्ध तरिकाले समाधान गर्न शुरू गरेको दार्जीलिङ हिल तृणमूल कङ्ग्रेस प्रवक्ता एनबी खवासले बताए।
“दार्जीलिङ पहाड़का जनता राज्य सरकारको 10 वर्षे कार्यकालमा कति सन्तुष्ट छन्, जनताले अझै के चाहेका छन् आदिबारे विस्तृत रिपोर्ट सङ्कलन गर्ने कार्य गरिएको छ, जसअनुसार, प्रथम चरणमा जनताले राखेका गुनासो वा समस्याहरूको आधारमा राज्य सरकारले विशेष दार्जीलिङ शहरी क्षेत्रमा 1 करोड़भन्दा अधिक, पुलबजार खण्डमा 6 करोड़ अनि सुकेपोखरी खण्ड क्षेत्रमा 3.60 करोड़ मूल्य बराबरको कार्ययोजना सम्पन्न गर्ने पहल शुरू गरेको छ”, उनले थपे, “किनभने, पार्टीले जनताबाट सङ्कलन गरिएका समस्या वा गुनासोहरू सोझै अनलाइनमार्फत् पार्टीका शीर्ष नेतृत्व अभिषेक ब्यानर्जीकहाँ पुऱ्याउने कार्य गरेको थियो।’’
विशेष गरी बिजनबारी क्षेत्रका जनताले बिजनबारीलाई महकुमाको दर्जा दिनुपर्ने, पुलबजार खण्डलाई जनताको सुविधाका लागि 3 भागमा विभाजन गर्नुपर्ने, घूम भञ्ज्याङदेखि बिजनबारीसम्मको सड़क मार्गलाई पीडब्ल्यूडी विभागमा हस्तान्तरण गर्नुपर्ने जस्ता मागहरू राखेको जानकारी गराउँदै खवासले थपे, “यी सम्पूर्ण विषयमाथि राज्य सरकारले ठोस कार्य गर्ने आशा गरिएको छ।”
उनका अनुसार सुके खण्डलाई पनि दुई भागमा विभाजन गर्नुपर्ने माग पनि जनताले उठाएका छन्। साथै यसमाथि पनि पार्टीले ठोस कार्य गर्ने योजना बनाएको उनले बताए।
खवासले थप भने, “दार्जीलिङ नगरपालिकालाई नगरनिगमको दर्जा दिलाउने माग अहिलेदेखि उठेको होइन। यसमाथि पनि जनताले पार्टीसमक्ष आफ्नो माग पेश गरेका छन्। यसैले पार्टीले यसबारे राज्य सरकारको ध्यान आकर्षण गराएर ठोस पहल गराउने योजना बनाएको छ।”
यति मात्रै होइन, दार्जीलिङमा पानीको समस्या समाधान गर्न अम्रुत परियोजनालाई शीघ्र पूर्ण गर्नुपर्ने, दार्जीलिङ शहरी क्षेत्रको स्वेरेज लाइनलाई व्यवस्थित बनाउनुपर्ने, जमिनको पर्जा-पट्टा दिनुपर्ने माग पनि जनताले गरेको उनले बताए।
“विगतमा धेरै पार्टीले यी मुद्दाहरू उठाए, तर ती मुद्दाहरूलाई सरकारअघि कहिले पनि राख्ने काम गरिएन। यसैले तृणमूल कङ्ग्रेसले जनताका यी विविध समस्याहरू समाधान गर्न विशेष पहल गरेको हो’’, उनले भने।
यसका साथै जनताले सिक्किम अनि कालेबुङ जानका लागि लेबोङदेखि टिस्टासम्म वैकल्पिक मार्ग निर्माण गर्ने माग राखेको जनाउँदै यसमाथि पनि पार्टीले सरकारको ध्यान आकर्षण गराउने निधो गरेको एनबी खवासले थप बताए।